घाम पानी नभनी दिनारात खटिने प्राबिधिकहरू वास्तवमा पर्दा पछाडीका हिरो हुन् । फिल्मको छायाँकन सुरू भएदेखि अन्त्यसम्म निकै नै खट्ने पर्दा पछाडीका ति हिरोहरूको अवस्था कस्तो छ ? समग्रमा प्राबिधिकको एउटै गुनासो सुन्न पाईयो- 'हाम्रो इज्जत नै हुँदैन ।'

फिल्म 'लज्जा'को सुटिङ सेटमा भेटिएका केही प्राविधिकले पर्दामा देखिने कलाकार तथा निर्माता निर्देशकबाट अपमानित हुनुपरेको दुखेसो पोखे । विगत १५ बर्षदेखि ड्रेस म्यानको जिम्मेवारी लिंदै आएका राजु गदैली आफ्नो दुखेसो यसरी पोख्छन्- 'मेरो काम पोशाक सम्हालेर राख्ने हो । तर, पुराना कलाकारले जुत्तामा समेत पोलिस गर्न लगाउँछन् । जबकी जुत्तामा पोलिस लगाउने मेरो काम नै हैन ।'

खेलाडी भनेर चिनिने २३ बर्षिय सुवास माझीको पनि आफ्नै दुःखेसो छ । लाइट म्यान माझी भन्छन्- 'नयाँ कलाकारले हामीलाई प्याच्च भनिदिन्छन् ।' आफ्नै कमाइले आमा र बहिनीलाई गाँस, वास र कपासको व्यवस्था गर्दै आएका सुवासको अनुभवमा नयाँ कलाकारले प्राविधिकलाई बालै दिदैनन् । भन्छन्- 'सबैको अगाडी 'ओ लाइट म्यान' भन्दा नरमाइलो लाग्छ ।'

डिजिटल प्रविधि भित्रिएपछि साउन्ड म्यान सागर घिमिरेको कुनै भाउ नै छैन । विगत २३ वर्षदेखि साउन्ड म्यान भएर काम गर्दै आएका घिमिरे भन्छन्- 'अहिले त कमाइ पनि छैन । टुके क्यामेराले खिच्ने फिल्ममा मात्रै हाम्रो काम आउँछ । काम नभएपछि हाम्लाई कस्ले भाउ दिने ?'

हेयर डिजाइनर कल्पना लम्जेलको अनुभवमा पुरानाको तुलनामा नयाँसँग काम गर्न सजिलो छैन । विशेषगरी नबुझेका नयाँ कलाकारले कल्पनालाई दिक्क पार्ने गरेका रहेछन् । ८ वर्षदेखि हेयर डिजाइनर भएर काम गर्दै आएकी कल्पना भन्छिन्- 'केही नयाँ कलाकारसँग त काम गर्ने क्रममा झगडा नै पर्ने गर्छ ।'

मेकअप आर्टिस्ट अमृत मरहठ्ठाले भने नेपाली फिल्ममा कलाकारको भूमिका अनुसार मेकअप नै नहुने गरेकोमा चिन्ता व्यक्त गरे । झन्डै दुइ दर्जन फिल्ममा मेकअप आर्टिस्ट भएर काम गरेका अमृत भन्छन्- 'नेपाली फिल्ममा मेकअप भनेको दाग छोप्ने र गोरो देखिन मात्रै गरिन्छ । कलाकारको भूमिका अनुसारको मेकअप एकाध फिल्ममा मात्रै हुन्छ ।' अमृत थप्छन्- 'हामीलाई पारिश्रमीक पनि चित्त बुझाएर हुँदैन । पर्दा पछाडीकालाई कसैले पनि इज्जत गर्न आवश्यक ठान्दैनन ।'

