फिल्म आँखा र कान दुवैका लागि हो । दृश्यात्मक भाषा ध्वनीका माध्यमबाट चेतनामा पसेन भने त्यसले सायदै सार्थकता ल्याउँला । तर, यतिखेर सहरका पर्दामा चलिरहेको मौन त्यस्तो फिल्म हो जसमा लिड रोलमा नै रहेका पात्रहरु चुपचाप छन् । फिल्मको शिर्षकलाई सार्थकता प्रदान गर्ने होइन कथालाई न्याय दिन जुराइएको मौनले फिल्मको मौनतालाई त्यतिखेर भंग गर्छ जतिखेर ठिक उल्टो दर्शक सोचिरहेका हुन्छन् ।
प्रेमको अभिव्यक्ति कुन भाषामा सरल रुपमा बुझिन्छ ? मौनले दर्शाउँछ - सांकेतिक भाषा । फिल्मको आफ्नै व्याकरण होला तर मौन भित्रको सांकेतिक भाषामा प्रेमको अभिव्यक्तिले संकेत भाषाको व्याकरणलाई पनि फराकिलो बनाएको छ । हो, पहिलो कारण यही हो मौन हेर्नुपर्ने कि नेपाली फिल्ममा नयाँ विषय, नयाँ प्रयोग संकेतको भाषा जुन विश्वव्यापी बुझिन्छ ।
अमन पात्रको रुपमा रहेका अर्पण थापा र बर्षा पात्रको रुपमा रहेकी नम्रता श्रेष्ठ सिनेमाको मुख्य अभिनयमा रहेका छन् । आफ्नो अभिव्यक्ति व्यक्त गर्ने नसक्ने र सुन्न पनि नसक्ने यी दुई पात्र फिल्ममा संवाद नगर्दा फिल्म खल्लो लाग्न सक्छ । भनिन्छ, फिल्मको पहिलो ५ मिनेटसम्म बाँध्यो भने अन्तिमसम्म बाँध्न सक्छ तर मौनले पहिलो १५ मिनेटसम्म पनि बाँध्न सक्दैन कतिखेर संवाद सुन्न पाइन्छ भनेर अत्यार लाग्न सक्छ तर त्यसपछि दर्शकले यति मनोरञ्जन लिन्छन् की फिल्मी डायलग गौण लाग्छ ।
हलिउड फिल्म द आर्टिस्ट र बलिउड फिल्म बर्फिको धुमिल या ताजा स्मरण गर्नेलाई पनि मौनले नविनता प्रदान गर्दछ । कतिपय अवस्थामा अभिनयलाई संवादले जिवन्त प्रदान गर्दछ । अभिनयको हिस्सा बन्छ संवाद तर बिना संवादको अभिनयमा जमेका छन् अर्पण र नम्रता । त्यसैले, मौन हेर्नुपर्ने अर्को कारण हो, म्युट पात्रको जोडदार अभिनय ।
मौनको कथा भन्छ, बोल्न सुन्न नसक्ने अमन एकोहोरो पाराको हुन्छ, ड्रेसअप प्राय रफ हुने अमनलाई एउटा कुराले सताइरहेको हुन्छ, जुन उसले बारम्बार सपनामा देख्ने गर्छ र विपनामा सम्झने गर्छ । एउटै कुराले डिस्टर्ब भैरहेको अमन एकान्त रुचाउने स्वभावको हुन्छ, साथीभाई, घरपरिवारसँग पनि बस्न मन नपराउने अमन लागूऔषधको दृश्र्वसनीमा फस्दै जान्छ । अमनको यस्तो व्यवहारले उनको आमा चिन्तित बन्दै गैरहेकी हुन्छिन् । जब अमनका बुबाले बोल्न र सुन्न नसक्नेहरुका लागि आयोजित वर्कसपमा अमनलाई पठाउँछन त्यसपछि फिल्मले उत्सुकता, रोमाञ्कता प्रदान गर्छ ।
वर्कसपमा बर्षाको पनि सहभागिता हुन्छ । गम्भिर स्वभावको अमनलाई चञ्चले बर्षाले विस्तारै मन पराउँदै जान्छे । प्रेमको शिलशिला निरन्तर अघि बढ्छ । बर्षाले अमनलाई परिवर्तन गर्दै लान्छे । अमनमा परिवर्तन देखा पनि पर्छ । जब अमनले सपनामा देखेको पात्रलाई देख्छ तब कथाले नयाँ मोड लिन्छ । त्यो लिफ्टमा देखिएको व्यक्ति को हुन्छ ? खासमा त्यो व्यक्तिले के गरेको हुन्छ ? किन अमन त्यो व्यक्तिकै कारण डिस्टर्ब भैरहेको छ ? के उसमा बदलाको भावना हुन्छ ? दर्शक यस्तै सोच्न बाध्य हुन्छन् ।
फिल्म छड्के पछि मौनमा उदाएकी नम्रता र धन्दा पछि मौनमा जमेका अर्पण दुबैको अभिनय शसक्त छ । भर्सेटायल नायक अर्पण र गर्जियस गर्ल नम्रताको जोडिले दर्शकलाई पूर्ण साथ दिन्छन् । निर्देशक सुरज भूषालले फिल्मलाई न्याय दिन पूर्ण कोसिस गरेका छन् । उनको कामको तारिफ भने हुन्छ । फिल्मको अर्को सबल पक्ष भनेको संगीत पनि हो । गीतकार भूपेन्द्र खड्काले कथाको प्लटमै गीत कोरेका छन् । गीतले कथालाई न्याय गरेको छ । शब्द चयन र कथात्मक कुरा गीतमा आउँदा सुन्न र दृश्यमा उतार्दा दर्शक रमाउन सक्छन् । सुगम पोखरेल र स्वपनिल शर्माको संगीत पनि दमदार छ ।
मौनका सहायक पात्रहरुको अभिनय पनि तारिफ योग्य छ । बर्षाकी बहिनी र अमनको वर्कसपको साथीको रोलले बर्षा र अमनलाई सहयोगी मात्र बनाएका छैनन्, दर्शकका लागि मसलेदार पनि बनेका छन् । सञ्जय लामाले चलाएको क्यामेरा प्रशंसनिय छ ।
फिल्म हलमा जे देखियो !
सिभिल मलको क्यूएफएक्समा शुक्रबार साँझ ५:४५ को सोमा दर्शकले मध्यान्तरमा पछि ताली बजाए र अन्त्यमा पनि तालि लगाए । निर्देशक दीपेन्द्र के. खनालले धेरै पछि तारिफ योग्य नेपाली फिल्म रहेको बताए । त्यस्तै अर्का निर्देशक आशिफ शाहले अब्बल नेपाली फिल्मको दर्जा दिए । मेघा फिल्मकी निर्देशक सम्झना उप्रेती रौनियारले फिल्म धेरै राम्रो बनेको बताइन् । हलबाट बाहिरिदा धेरै दर्शकले यसको पब्लिसिटी नपुगेको बताए पनि ।
मौन
निर्देशकः सुरज भुषाल
निर्माणः क्वार्क फिल्म, आकाश आदित्य इन्टरटेनमेण्ट मुभी
स्टोरी लाइनः मौन प्रेम, रिभेन्ज
अभिनयः अर्पण थापा, नम्रता श्रेष्ठ
लेखनः अर्पण थापा
सिनेम्ट्रोग्राफीः सञ्जय लामा
गीतः भूपेन्द्र खड्का
संगीतकारः सुगम पोखरेल, स्वपनिल शर्मा
(पुनश्चः यो समिक्षा होइन ।)

