आफ्ना गुरूहरूलाई कस्ले कसरी सम्झे त्यो बुझ्न नसकेपनि अभिनेत्री गौरी मल्लले भने आफ्ना शब्दलाई कविताको रूप दिएर सम्झिएकी छिन् । हाल अमेरिकामा रहेकी गौरीले गुरू पूर्णिमाको अवसर पारेर आफ्ना सात गुरूहरूलाई सम्बोधन गर्दै कविता तयार पारेकी छिन् । उनले जन्मदिने आमा, कर्म दिने पिता, अध्ययन गर्न सिकाउने शिक्षक, फिल्म निर्देशक प्रकाश थापा, नृत्यनिर्देशक बसन्त श्रेष्ठ, साहित्यकार तथा निर्देशक चेतन कार्की र स्वामी विकासानन्दलाई आफ्नो गुरू मानेकी छिन् । गौरीले तयार पारेको कविता यस्तो छ -
मेरो जीवनका सात गुरुहरुमा सभक्ति समर्पण !!!
जसरी जनकले सितालाई
अँगाले धर्तीको छाती चिरी ,
मेरी आमा , तिमीले आँफैलाई समर्पण गरी
ल्याउ मलाई यस धर्तीमा फूल सरी !
तिमीबाटै फुट्यो पहिलो वाक्य
सिकायौ पहिलो अक्षर आमा भनी,
तिमीबाटै सिकेँ टिप्न पहिलो गाँस
सिकायौ बामे सर्ने कला पनि !
मेरो जीवनको पहिलो अध्याय..
मेरी आमा, मात्र आमा नभै
मेरो जीवनदर्शनको प्रथम गुरू पनि तिमी !!
मेरो पहिलो पाइला तिमीले,
आफ्नो खुट्टा माथी टेकायौ,
बामे सरिरहेका हातहरुको
औँला थामी उठायौ !
खम्बा बनी चारै तिर
हरेक दुर्घटनाहरुबाट बचायौ !
सहि, गलत, राम्रो, नराम्रो,
जीवन संघर्षको पाठ सिकायौ !
केवल जन्मको माध्यम मात्र नभै
मेरो जीवनको दोस्रो गुरू तिमी ,
मेरो जीवनको दोस्रो अध्याय...
मेरो पिता, मात्र पिता नभै
मेरो गुरू पिता पनि तिमी !!
विद्या जीवनको आमुल्य धरोहर,
विद्या मै छ भविष्यको मानसरोवर,
विद्या नभय हुन्थेँ म कँगाल ।।
जसरी हुन्थ्यो होला त्रिशंकुको हाल !
मेरा गुरूवर, मेरो शिक्षालय,
जीवनको संघर्षको मैदानमा
त्यही उर्जा भयो बिद्यालय !
जीवनद्रश्टा, अनी मार्गदर्शक
मेरो अन्योलताको पथप्रदर्शक,
मेरो जीवनको तेस्रो अध्याय...
मेरा शिक्षक, मात्र शिक्षक नभै
मेरो जीवनदर्पण पनि तिमी !!
कुन्ठाग्रस्त रहन्थे प्रतिभा
निभ्दै जान्थ्यो शायद बल्दै नबली,
दिंदैन थियौ यदि झिल्का तिमीले नभने
म भित्रको आगोले पाउँथ्यो राप कसरी ?
थिएन कुनै पहिचान मेरो,
परिचय यो दुनियाँलाई गरायौ !
गौरी मात्र केवल गौरी थिई,
तिमीले गौरी मल्ल बनायौ !
जीवनको आधार प्रकाश तिमी,
प्रकाश थापा बनी उभिन आयौ !
मेरो जीवनको चौँथो अध्याय ...
मेरो दोस्रो पिता, मात्र नामको नभै
मेरो जीवन परिचायक पनि तिमी !!
शब्द बिना आवाज जसरी अधुरो,
साज बिना ताल जसरी अपुरो,
तिमी बिना मेरो त्यस्तै हुन्थ्यो हाल,
जसरी बिजुली बिना हुन्थ्यो होला मयुरको ताल !
मेरो पाउहरुलाई सुरतालमा चलायौ
शिर देखी पाउसम्म नवरस ओढायौ,
राग बसन्ती भै आयौ गुरू बसन्त तिमी ..
न्रुत्य जीवनको अमुल्य मुद्रा , देखायौ तिमी !
मेरो जीवनको पञ्चम अध्याय ..
मेरो नृत्यको भावहरु मात्र नभै
मेरो अभिव्यक्तिको उदाहरण पनि तिमी !!
शब्द ब्रम्हाण्ड भित्र रहन्थेँ
शब्द खान्थेँ शब्दै पिउँथेँ,
शब्द शब्द डुलिरहन्थेँ
शब्दै तान्थेँ शब्दै छोड्थेँ,
शब्द भित्र बेअर्थ निर्जिव
बाँचिरहन्थेँ शायद म आज पनि,
परेको नभए त्यो दिन हात...
"कल्पना टुट चुकी है " किताब !
त्यो दिन एक किशोरी शब्द भित्र हराई...
शब्द रोई शब्दै मुस्काई,
शब्द लजाई, शब्द भित्रै रमाई,
बल्ल बुझी उस्ले शब्द के हो ?
चुनेर फूल जसरी माला उन्ने कस्तो हो ?
उ त चेतन थियो नै,
चेतना म भित्रको शब्दको जगायो ..
खाँद लागेका एक एक अक्षरलाई
माला सरी उन्न सिकायो !
तिमी मेरो द्रोण अनी,
तिम्रो एकलव्य म !
मेरो जीवनको षष्ठम अध्याय...
मेरो रचनाहरुको प्रेरणा मात्र नभै
मेरो शब्द जीवनको सार पनि तिमी !!
भौंतारी रहन्थ्यो जीवन डुंगा अझै
अर्थहिन बन्थ्यो सिङो अस्तित्व कठै !
बाँच्नुको लागि त बाच्थें होला
जीवनकला तर हराउँदो हो !
जसरी मणी गुमाएको सर्प
रातमा एक्लै कराउदो हो !
जुन दिन साक्षत्कार भएँ
बुझेँ बल्ल जीवनको अर्थ,
एकपल स्वयमलाई धिक्कारें
बाँचिरहेकी रहेछु आज सम्म बेअर्थ !
बिकास गर्यौ मेरो अस्तित्वको
ल्याई मनोक्रान्ति जीवनमा,
पाउने थिईन जीवन परिचय बिकासानन्द
यदि तिमी नहुँदो हो जीवनमा !
मेरो जीवनको सप्तम अध्याय...
मेरो गुरूदेव, गुरूदेव मात्र नभै
मेरो जीवन कुन्डलिनी पनि तिमी !!
"गौरी"

