Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

राम्रा फिल्म कपी गर्दा किन आपत्ति ? : आर्यन

कृष्ण न्यौपाने, दमौली, 2013/07/13

चल्तिका नायक आर्यन सिग्देलले राम्रो सन्देश दिने विदेशी भाषाको फिल्म कपी गर्दा कसैले आपत्ति जनाउन नहुने बताएका छन् । आर्यनको मुख्य भूमिका रहेको फिल्म दबाब भारतीय फिल्मको नक्कल गरिएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा आर्यनले उक्त कुरा बताएका हुन् ।

 

शनिबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै आर्यनले फिल्मको उद्देश्य मनोरञ्जन र शिक्षासँगै सन्देश पनि भएको हुँदा राम्रो सन्देश दिने र राम्रो कथावस्तु भएको विदेशी भाषाको फिल्म कपी गर्दा कसैले आपत्ति जनाउन नहुने बताए । आफ्नो पछिल्लो फिल्म ‘महशुस’को च्यारिटीको लागि दमौली आएका आर्यनले पछिल्लो अवस्थामा खस्कँदो फिल्मको व्यापारमा कलाकारको कुनै भूमिका नहुने बताए । ‘कलाकारको कारण फिल्म चल्ने हैन,’ आर्यनले भने- ‘राम्रो कथावस्तु र राम्रो प्रस्तुति हुने हो भने फिल्म राम्रो चल्छ ।’

 

भानु महर्जनको निर्माणमा दयाराम दाहालले निर्देशन गरेको फिल्म 'दबाब' अहिले देशभर चलिरहेको छ । नीता ढुंगानासँग अनस्क्रिन रोमान्स गरेका आर्यनले दबाबको रेस्पोन्स राम्रो आएको बताए । 'फिल्म हेरेर दर्शक सन्तुष्ट भएको मैले पाएको छु,' आर्यनले भने- 'बिजनेश पनि राम्रै भएको छ ।'
 


सो अवसरमा ‘महशुस’का निर्माता समेत रहेका नायक कल्याण घिमिरेले ‘महशुस’लाई वास्तविक नेपाली फिल्म भएको दावी गरे । यस अघिको हिट फिल्म ‘श्रीमान’का निर्माता कल्याणले ‘महशुस’लाई श्रीमान भन्दा राम्रो बनाएको बताए । ‘यसले देशको वास्तविक कथा बोकेको छ’, कल्याणले भने- ‘महशुसले नेपाली फिल्मको खस्कँदो बजारलाई उठाउन सक्छ ।’