Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चलचित्र इतिहास : हिरा सिंहलाई किन खेदियो ?

राजाराम फुयाँल, काठमाण्डौ, 2013/07/11

बबरमहल छेउ डाँडामा कार्यालय खुल्यो । पर्खालमा ठूलो अक्षरले ‘माइतिघर’ लेखियो । बसबाट क्याम्पस जाने केटीहरुलाई सहयात्रीहरुले ‘ऊ तिमीहरुको माइतीघर आयो’ भनेर जिस्क्याउन थाले । चलचित्र माइतिघरको सबै काम त्यहीबाट हुने भएकाले प्रायले माइतीघर भन्न थाले । भन्दाभन्दै र जिस्क्याउँदा जिस्काउँदै त्यो ठाउँको नाम नै माइतीघर बन्यो ।


'माइतिघर’ मुम्बईमै मुहूर्त भयो । केही दृश्य खिच्न काठमाडौं र पोखराका लोकेशन छानिए । छायाङ्कनका लागि प्राविधिक र सबै सामग्री संयन्त्र मुम्बईबाटै ल्याइयो, ट्रलि जेनेरेटर समेत । पहिलो दिन काठमाडौंको सर्वोच्च अदालत अगाडि फिल्मको अन्तिम दृश्यको छायाँकन थियो, मालालाई हेर्नेहरुको भीड अनियन्त्रित भएपछि लाठीचार्ज नै गर्नुपर्‍यो । डकोट प्लेन चढेर निर्माणटोली पोखरा पुग्यो । त्यहाँ शीर्ष गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो’, एउटा कीर्तन अनि ‘नमान लाज यसरी’ वोलको गीत छायाँकन गरियो । विवाह र केहि खुद्रे दृश्यहरु समेत खिचेपछि काठमाडौं फर्किएको टोलीले करीब दुई साता लगाएर त्रिचन्द्र, अस्कल क्याम्पस, पारस होटल लगायतको आउटडोर छायाँकन सक्यो । नेपालगंज, पोखरा र त्रिचन्द्र कलेज परिसरको साँस्कृतिक कार्यक्रम लगायतका थुप्रै दृश्य सेट बनाएर मुम्बईमै खिचियो ।

 

मुम्बईमा माला सिन्हाको फुर्सद हेर्दै सुटिङको तिथी तय गरिन्थ्यो । मालाले पटक पटक गरेर करिब ४० दिन समय निकालिन् र मुम्बईवासी नेपालीहरुले दिनरात मेहनत गरे । जयदेवले नेपालीको मन जित्ने गरी संगीत दिए । मन्नाडे, आशा भोस्ले, उषा मङ्गेस्कर, गीता दत्तले निःशुल्क गाइदिए । दार्जिलिङबाट झिकाइएकी अरुणा लामाले रेकर्डिङकै वेला छोरी जन्माईन् । म.वि.वि. शाह रचित ‘तिमीलाई लाख लाख वन्दना’ फिल्मको छायाँकन सकिएपछि मात्र रेकर्ड गरिएको थियो, जसलाई लता मङ्गेस्करले निःशुल्क गाईदिइन् ।


पूर्ण कथानक पहिलो नेपाली फिल्म बनाउने मुम्बईवासी नेपालीहरुको प्रयासलाई सुनिलदत्त, राजेन्द्रनाथ जस्ता भारतीय कलाकारले समेत अतिथि भूमिकामा उभिएर हौसला दिए । कला निर्देशक शान्तिदासको कुशलताले त कमालै गर्‍यो । उनले मुम्बईका स्टुडियोहरुमा नेपाली घरवैठक, सभाकक्षहरुको हुबहु प्रतिरुप तयार गरे, बिना पारिश्रमिक । नेपालजंगको वादी वस्तीको दृश्य, अदालतको वहस, काला कुर्तैले गीतको छायाँकन हेर्दा मुम्बईमा खिचिएको भनेर पत्याउन गाह्रो गर्छ ।


वि.सं. २०११ मा सुरसार गरेर २०२२ असोजमा छायाँकन र १ पुस २०२३ मा पाटनको अशोक सिनेमा हलमा प्रथम प्रदर्शन भएको ‘माइतीघर’ नेपाली व्यावसायिक सिनेमाको आधार स्तम्भ मात्रै बनेन, धेरै कलाकारका निम्ती सिने करिअरको पूर्वाधार बन्यो । फिल्ममा जनार्दन सम डाक्टर बनेका छन् । यादव खरेल नायकका साथी श्रीधर खनाल, टीका भूषण दाहालले निर्देशक बी.एस. थापासँगै सम्वाद लेखे । टीका भूषण, यामवहादुर, केशव राना, विनय शर्मा, सुनिता रेग्मी, यदुकुमारी, रतन गुरुङ लगायत धेरै नेपालीले सिने अभिनयको स्वाद चाखे । नेपाली झण्डा उठाउँदै पसिना पसिना भएर नाचिरहेका गोपीकृष्णलाई पछ्याउँदै वसन्तजंग रायमाझीले नृत्य निर्देशनको करिअर शुरु गरे । किरण खरेलको गीतियात्राले ठूलो उचाई भेट्यो । २७ वर्षको उमेरमै माइतिघर जस्तो  ऐतिहासिक उपहार लिएर नेपाल फर्किएका किशोर तिमिल्सिनाले पछि हरे राम हरे कृष्ण, महान, जोनी मेरा नाम, आधितुफान लगायतका हिन्दी सिनेमाको निर्माण–नियन्त्रणको जिम्मेवारी निर्वाह गरे । नौ लाख रुपैयाको लागतमा वनेको यो सिनेमाको स्वामित्व अहिले किशोरसँगै छ ।

 

बि.एस. थापाले माइतिघरकै कथावस्तुमा ‘लक्ष्मी’ नामको हिन्दी फिल्मसमेत बनाएका थिए । जसले अपेक्षित सफलता पाएन । तर उनले माइतीघरकै अनुभवको उपभोग गर्दै धेरै भारतिय सिनेमाको निर्देशन गरे । माला सिन्हाले दोहोर्‍याएर नेपाली फिल्म खेल्न भ्याइनन् । उनीकहाँ उपयुक्त प्रस्ताव समेत पुगेनन् । माइतीघरमा श्रीमान् र छोराको दोहोरो भूमिका निर्वाह गरेका सीपीलाई जीवनसंगी वनाएपछि नेपाल र नेपालीसँग उनको आत्मीयता बढ्यो । सीपी–मालाको पिरती गाँसिदिने सुत्रसमेत वनेको थियो त्यो फिल्म । व्यावसायिक नेपाली फिल्मको प्रारम्भिविन्दु मानिएको यो सिनेमा झण्डै झण्डै मिथक नै वनिसकेको छ, धेरैका लागि एकादेशको कथा ।


यो फिल्मले स्वदेश र प्रवासमा गरी जम्मा साढे तीन लाख कमायो । अरु रुपैयाँ घाटामा गयो । चार लाखसम्ममा सम्पूर्ण फिल्म तयार पार्ने उद्देश्य थियो निर्मातासँग । तर निर्माणटोलीसँग मितव्यतितामा आधारित योजना नभएको कारणले निर्माताहरुको खल्ती खाली भयो । विज्ञापनमा पहिलेदेखि नै प्रशस्त खर्च गरिसकिएको थियो । त्यसैले बीचैमा निर्माण कार्य वन्द गर्नु समस्त नेपालीहरुको अयोग्यता ठहर्ने देखियो । निर्माताहरुले नाफा नोक्सानको ख्याल नराखी राष्ट्रिय शानको निम्ति पनि फिल्म पूरा गर्न दृढ संकल्प लिनै पर्‍यो । माइतिघर नेपालमा निजी क्षेत्रबाट वनेको पहिलो फिल्म हो । यसपछि वीस वर्षसम्म गैरसरकारी क्षेत्रबाट फिल्म बनाउने कसैले हिम्मत गरेनन् । यसका निर्माता नरशम्शेर ज.व.रा. र जोगेन्द्र झा थिए ।


२०२३ सालमा आएर सरकारी लगानीमै सूचना विभागले तेस्रो चलचित्र बनाउने घोषणा गर्‍यो । ‘हिजो आज भोली’ नामबाट २०२३ सालमै सुटिङ प्रारम्भ गरिएको यस सिनेमा पनि केही अंश पंचायत व्यवस्थाकै बारेमा समावेश गरिएको थियो । यसका बाँकी अंश भने देशको ऐतिहासिक रुपरेखामा आधारित थियो । ब्ही बलसाराको संगीत रहेको यस फिल्मको निर्माण लागत चार लाख थियो । यही सिनेमा मार्फत नारायणगोपालले आफ्नो पाश्र्व गायन यात्रा प्रारम्भ गरेका थिए । यसमा सहभागी कलाकारहरुमा भुवन थापा, मित्रलाल, श्रीधर खनाल, शान्ति मास्के, उत्तम नेपाली, बसुन्धरा भुषाल, इन्द्रलाल श्रेष्ठ, हीरा सिंह, प्रदीप रिमाल, गुप्न सेन, यादव खरेल थिए । २०२४ साल फल्गुन २ गते प्रदर्शनमा आएको यस फिल्मलाई हीरा सिंह खत्रीले नै निर्देशन गरेका थिए । अपेक्षाकृत यो फिल्म पनि सफल वन्न सकेन । विषयवस्तु छनौट र प्रभावकारिता सून्य भएकाले यो सफल बन्न सकेन । तर अन्य हेर्ने कुनै सिनेमा नभएकाले दर्शकले खल्लो मानी मानी हेरेको भने देखियो ।


२०२५ सालतिर रत्ना फिल्म्स्को व्यानरमा गोपाल जी नेपालीको निर्देशनमा लाहुरे र पशुपति फिल्मस्को व्यानरमा सूर्यकान्त शर्माको निर्देशनमा ‘मायालु’ बन्ने कुरा घोषणा भयो । तर बनेर प्रदर्शनमा आएको देख्न र सुन्न पाइएन । सिनेमाको आकर्षण देखेर वनाउन तम्सिएका यी उत्साहित युवाहरु ‘माइतिघर’ जस्तो फिल्मले पनि पैसा कमाउन नसकेको देखेर हिच्किएको बताइन्छ । २०२६ सालमा फेरि सूचना विभागकै लगानीमा ‘परिवर्तन’ नामक सिनेमा वनाउन सुरु भयो । यो सिनेमा पनि पंचायतकै गुनगान गाइएकोले दर्शकले रुचाउने संभावना कम हुँदाहँदै पनि राजालाई खुशी पार्न बनाइएको हो । चलचित्र बनाएर सिने उद्योगको स्थापनामा एउटा इटा थप्ने उद्देश्य यसमा वोकिएको थिएन । हिरासिंहकै निर्देशनमा यस सिनेमा यज्ञनाथ घिमिरे, रीता थापा, मित्रलाल, शीला गुरुङ, नीर शाह, सुषमा शाही, हरिप्रसाद रिमाल, यादव खरेल, हीरा सिंह, इन्द्रलाल श्रेष्ठ, रामलाल जोशी आदि कलाकारले अभिनय गरेका थिए । जनार्दन समको ‘चेतना’ नाटकबाट प्रेरित यो सिनेमामा पहिलो पटक नेपाली छायाँकार वैकुण्ठ मास्केले क्यामेरा चलाएका थिए । रु. ६ लाख रुपैयाँमा तयार पारिएको यो सिनेमा २०२७ सालमा प्रदर्शनमा आएको थियो । नारायण गोपाल, तारादेवी, मीरा राणाको पाश्र्व गायन रहेको यसमा ब्ही वलसराको संगीत रहेको छ ।

 

२०२८ सालमा प्रकाश थापाको निर्देशनमा अम्बर गुरुङको संगीता ‘मेरो देश’ नामक फिल्मको घोषणा गरियो । जसमा लता मङ्गेशकरले केही गीत पनि गाउने भएकी थिइन् । बम्बई रही–बसी भारतीय फिल्ममा काम गरेर राम्रो अनुभव वटुलिसकेका थापाले यो फिल्म तयार पार्न निक्कै खट्नु भयो तर वन्न सकेन । यसरी यसैबेला उद्घोषण भएका नेपाली फिल्महरु देवी, मेरो धरती, मेरो आकाश पनि वन्न सकेनन् ।



स्वदेशमै चलचित्र वनाउने, प्राविधिक उत्पादन गर्ने, चलचित्रका लागि आवश्यक सवै सेवा स्वदेशमै उपलब्ध गराउने, ल्यावोरेटरी, स्टुडियो र डविङ थिएटर निर्माण गर्ने उद्देश्यले तत्कालिन सरकारले शाही नेपाल चलचित्र संस्थानको विधिवत गठन गर्‍यो । यसका प्रथम महाप्रवन्धक यादव खरेल थिए । नेपाली चलचित्र उद्योगको स्थापना र विकास गर्ने उद्देश्य वोकेर यो संस्थानको एउटा संचालक समिति पनि वनाइयो । यस समितिमा वालकृष्ण सम, माधव घिमिरे, टीका सिंह, श्रीधर खनाल, उत्तमलाल श्रेष्ठ आदि थिए । प्रारम्भका दिनमा यो संस्थानले प्राविधिक ज्ञान लिन केही व्यक्तिलाई विदेशमा चलचित्र अध्ययन गर्न पनि पठायो, छायांकार, निर्देशक, ध्वनि निर्देशक जस्ता विधामा केही प्राविधिक पनि जन्मायो, तर आफ्नो उद्देश्य वमोजिम अन्य कार्यक्रममा लागू गर्न अथक प्रयास गरेपनि सफल भएन । २०२८ सालमै राजा महेन्द्रको देहान्त भएकाले पनि यो संस्थानले केही पनि गर्न सकेन । महेन्द्रकै परिकल्पनामा यो स्थापना गरिएकाले उनको देहान्त पछाडी राजा भएका विरेन्द्रले यसलाई तत्काल दृष्टि पुर्‍याउन सकेनन् ।


'शा.ने.च.स'ले आफ्नो पहिलो प्रस्तुतिमा ‘मनको वाँध’ नामवाट चलचित्र वनाउने घोषणा गर्‍यो । प्रकाश थापाको निर्देशनमा यस सिनेमामा शल्यान केसी, सुषमा शाही, मीना सिंह, जगन्नाथ तिमिल्सिना, हरिप्रसाद रिमाल, सुभद्रा अधिकारी, भैरव बहादुर थापा, वसुन्धरा भुषाल, नीर शाह, हिमालय लोहनी आदि कलाकारले अभिनय गरेका थिए । श्रीधर खनालको कथामा प्रदिप रिमाल र लक्ष्मीनाथ शर्माको संवाद, वैकुण्ठ मास्केको छायांकन, तीर्थलाल श्रेष्ठको सम्पादन, भैरव वहादुर थापाको ध्वनि नियन्त्रण, नातीकाजी शिवशंकरको संगीत, माधव घिमिरे, शिव शंकरको गीति रचना, बञ्चु कैलास, नारायण गोपाल, तारादेवी र मीरा राणाको स्वर, अम्वर गुरुङको पाश्र्व संगीत रहेको यो फिल्म सबै प्राविधिक नेपाली नै राखेर तयार पारिएको पहिलो नेपाली फिल्म हो । पहिलो पटक पाश्र्व संगीत र पृष्ठसंगीत राखिएको सिनेमा पनि यही हो । यसको प्रदर्शन २०३० फागुन ७ गते गरिएको थियो । आशातीत सफलता नपाए पनि यो सिनेमालाई राम्रै मानिएको थियो । संस्थानको पहिलो कोसेलीवाटै धेरै व्यक्तिहरु खुशी पनि देखिए । अगाडीका फिल्म भन्दा यसलाई आर्थिक रुपमा सफल नै मानियो ।


नेपाली चलचित्र इतिहासको यो पहिलो चरण यसरी मनको वाँधसम्म आइपुगेर सकिन्छ । समयसिमाले ३० वर्षको अवधि रहेपनि चलचित्र वन्ने क्रम एकदम ढिला भएकोले यस अवधिमा जम्मा छ वटा सिनेमा वन्न पुगेको देखिन्छ । घोषणा भएर पनि छ वटा सिनेमा बन्न सकेनन् । वनेर पनि दुइटा सिनेमा अधुरै रहे । शुरुमा राज्यले चलचित्र सम्बन्धि कुनै नीति वनाउन नसके पनि पछि यसलाई गतिदिनभने कोसिस गरेको देखियो । सुरुमा आफैले सिनेमा वनाउन थालेको राज्यले पछि गएर यसलाई उद्योगको रुप दिने उद्देश्यले शा.ने.च.स को गठन गरियो । यो सकारात्मक कदम थियो । स्वदेशमा प्राविधिक र स्रोतसाधन विकास गर्ने यसको उद्देश्य उपलब्धिपूर्ण पनि देखियो । राज्यकै पहलमा वनेका सिनेमाहरु आमा, हिजो आज भोली र परिवर्तन नाम सुन्दा जति राम्रा लाग्छन् तर हेर्दा त्यति नै व्यर्थ देखिन्छ । राज्यको यो लगानी खेर गएको स्पष्टै देखिन्छ । वरु यो लगानीलाई प्रताप सुब्बा, प्रकाश थापा र प्राण कुमारमा अधुरा फिल्ममा प्रयोग गर्न सकिएको भए राम्रो हुने थियो की ?


राजा महेन्द्रको आग्रहमा नेपाली चलचित्रकै उत्थान गर्ने अभिप्रायले भारत नफर्कने निश्चय गरी वसेका हिरासिंहको प्रतिभाको यथोचित प्रयोग गर्न नसक्नु यो चरणको ठुलो कमजोरी देखियो । उनको विरुद्ध अनेकौ षडयन्त्र गरी भारत फर्कन वाध्य गराएको भन्ने कुरा उनका समकालिनहरु बताउँछन् । त्यस बेला अनेकौ दुःख कष्ट भोगी तीनवटा नेपाली चलचित्रहरुको निर्देशन गर्दा राजा महेन्द्रले दिएको रु.२५ हजार वाहेक अरु केही दिइएन । उनले पाउनु पर्ने पारिश्रमिक पनि उनलाई नदिई उल्टो भ्रष्टाचारको जालमा पारियो । यी सबै षडयन्त्रको जालमा परी चित्त दुखाएर भारत फर्कनु परेका हीरा सिंहको भारतको बम्वैमा सन् १९७९ सालमा निधन भएको थियो । यसरी उनलाई नेपालबाट खेदिनुमा के रहस्य छ ? त्यो खोजीनीतिको विषय छ । तर खोला तरेपछि लौरो विर्सने उखानलाई यो घटनाले प्रमाणित गरिदिएको छ ।

 

अघिल्लो भाग हेर्न यहाँ क्लिक गर्नुहोला !

चलचित्र इतिहास : यसरी बन्यो हिराको `आमा`