Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नेपथ्य`का रमाईला किस्साहरु

फिल्मीखबर, काठमाण्डौ, 2013/05/26
एउटा फिल्म निर्माण गर्नका लागी नेपथ्यमा निकै पापड पेल्नुपर्ने हुन्छ । फिल्म तयार भएर हलसम्म आउनुको पछाडी एउटा फिल्मसंग धेरैको दुख, खुशी र रमाईला क्षणहरुको किस्सा जोडिएको हुन्छ । सुटिङको दौरानमा कुनै बेला रुनुपर्छ, कुनै बेला हाँस्नुपर्छ भने कुनै बेला रमाईलो पनि गर्नुपर्छ । एउटा फिल्म निर्माण भएर हलसम्म आईपुग्दा जति रंगहरुले भरिएको हुन्छ ती सबै दृश्यलाई रंगीन अनि विशेष बनाउनका लागी निर्देशक, कलाकार, क्यामेराम्यान सहित धेरै प्राविधिक, स्पटब्वाई, ड्रेसम्यान, कुक लगाएतका क्षेत्रको पनि उत्तिकै हात हुन्छ । र, एउटा फिल्म सफल हुनु भनेको यी सबै क्षेत्रका मान्छेहरु एकैचोटी सफल हुनु पनि हो । 
 
नेपाली फिल्म नेपथ्य अहिले चर्चामा रहेको फिल्म हो । ड्रिम वर्क फिल्म्स्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई रामराजा दाहालले निर्देशन गरेका हुन् । देशभरका सिनेमा हल, टेलिभिजन च्यानल, युट्युव अनि अन्य सामाजिक संजालमा यो फिल्मको प्रोमो हेर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । जेठ २४ गते देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको यो फिल्म हलसम्म आईपुग्दा धेरैले आशा गरेको फिल्मको रुपमा दरिनका लागी नेपथ्यमा के कस्ता किस्साहरु भएका थिए । यो फिल्मका निर्देशक अनि मुख्य कलाकारहरुले नेपथ्य फिल्म सुटिङ गर्दाका केहि रमाईला र विर्सन नसक्ने किस्सा यसरी सुनाए -
 
रामराजा दाहाल :- मैले यो फिल्म केहि समयको ग्यापपछि मात्रै गरेको हुँ । लामो समयको अध्ययन पश्चात राम्रो काम गर्ने उद्देश्य सहित बनाईएको यो फिल्मको सुटिङको कुरा गर्दा मलाई हरेक दिन सम्झना छन् । टिममा भएका सबै जनामा पारिवारीक भावना थियो । एकले अर्कालाई परिवारकै सदस्य जसरी माया अनि वास्ता गर्ने भएकोले यो फिल्ममा काम गर्न निकै रमाईलो पनि भयो । मलाई सबैभन्दा बढि याद आउने क्षण भने हाम्रै टिमको कुक मनतोषको वर्थ डे हो । त्यो दिन उसको वर्थ डेको अवसर पारेर हाम्रो टिमले उसलाई सेक्रेट्ली ट्रिट दिने योजना बनायो । र, साँझ सामान्य जमघटको समेत आयोजना गरेर उसको वर्थ डे केक काट्दा उसले हर्षले आँशु नै झार्‍यो । उसले भन्दै थियो- ‘मेरो जिवनकालमा पहिलोपटक मैले यसरी वर्थडे मनाईरहेको छु । मैले धेरै फिल्ममा कुकको रुपमा काम गरेपनि यत्ति धेरै माया र सद्भाव मैले कुनै टिमबाट पाएको थिएन ।’ नेपथ्य फिल्मलाई राम्रो बनाउनका लागी सबै टिमले उत्तिकै मेहेनत गरेका छन् । र, यो फिल्मलाई दर्शकहरुले माया गर्नुहुनेछ भन्ने विश्वास पनि मसंग छ । किनभने फिल्म साँच्चै राम्रो बनेको छ । 
 
विल्शन विक्रम राई :- मलाई यो फिल्मको लागी रामराजा दाहाल ज्यूले कुराकानी गर्दाखेरी एकै वचनमा नै राजी भएको थिएँ । किनभने यो फिल्ममा मैले जुन चरित्र निभाएको छु, त्यो मेरो वास्तविक जिवनसंग मेल खान्छ । यो फिल्म गर्दा म पुरै नोस्टाल्जिक भएको थिएँ । मेरा पुराना दिनहरुको सम्झना हुन्थे । हरेक दिन जब म सेटमा जान्थे तब मलाई पुराना दिनको याद आईहाल्थ्यो । मैले मेरो जिवनकालमा गरेका संघर्षलाई नै नेपथ्यमा मैले निभाएको हुँ । एक दिन अलिक रमाईलै घटना घट्यो, झोल्लिने पाईन्ट भएकोले अलिक टाईट बनाउनका लागी मैले पाईन्टमा फोम घुसाएको थिएँ । तर फिल्ममा भने प्रहरीले मलाई लखेट्ने दृश्य थियो । प्रहरीले लखेटे, म दगुँरे तर म जाबोको के लाग्थ्यो र ? प्रहरीले मलाई समाते । अनि मेरो पाईन्ट अस्वभाविक रुपमा पुट्ट उठेको देखेपछि प्रहरीले पाईन्ट खोल्न लगाए । अब प्रहरीले दबाब दिएपछि मेरो के लाग्थ्यो र ? मैले पाईन्ट खोले अनि फोम खस्यो । यो कुरा सम्झिँदा मलाई अहिले पनि निकै रमाईलो लाग्छ । 
 
आदित्य बुढाथोकी :- नेपथ्य मेरो करिअरसंग जोडिएको फिल्म हो । यो फिल्मको सफलतासंगै मेरो सफलता पनि जोडिएको छ । त्यसैले नेपथ्य फिल्मको सुटिङका हरेक दिन सम्झँदा मलाई निकै रमाईलो लाग्छ । सुटिङकै क्रममा घटेको एक दिनको घटना भने मलाई अहिलेसम्म निकै रोचक लाग्छ । के थियो भने, फिल्मको एउटा दृश्यमा मैले पागलको भुमिका गर्नुपर्ने थियो । पागल भएर सडकमा भौतारिएर हिँड्नुपर्ने, सवारी गुडिरहेको सडकको बिचमा गएर उभिनुपर्ने लगाएतका पागलले गर्ने हर्कतहरु मैले गर्नुपर्ने थियो । मैले त्यसै गरिरहेको थिएँ, क्यामेरा लुकाईएको थियो । अनि मैले पागलको अभिनय गरिरहेको बेला बाटोमा हिँड्ने मान्छेहरुले भन्दै थिए- ‘विचरा यस्तो लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमै दिमाग खुस्किएछ, कहाँको मान्छे होला, कसरी पागल भयो होला ?’ जस्ता जिज्ञासा आफैले आफैलाई भन्दै मानिसहरु हिँडिरहेका थिए । पछि जब ती मान्छेले सुटिङ रै’छ भन्ने चाल पाए तब हाँसोको फोहोरा यसरी छुट्यो कि एक छिन त त्यो टोलनै हाँसोमय बन्यो । मलाई यो क्षण सम्झिँदा अझै त्यो दिनको याद आउँछ । 
 
रेम बिक :- डेब्यु फिल्म भएकोले होला म यो फिल्मको लागी अनुबन्धित भैसकेपछि निकै एक्साईटेड थिएँ । सुटिङमा के होला ? कस्तो होला ? मेरो मनमा अनेकथरी कुराहरु खेलिरहेका थिएँ । यद्यपी फिल्मको टिम मैले सोँचेको भन्दा पनि सहयोगी अनि आत्मिय मैले पाएँ । मलाई नेपथ्य फिल्मको सुटिङ ताकाको हरेक दिन सम्झना छ । तर एउटा दिन भने मैले कहिल्यै भुल्दिनहोला शायद । पुसको महिना थियो, काठमाण्डौको जाडो, त्यसैमाथि एअरपोर्ट पारिपट्टीको डाँडोमा रात्रीकालिन सुटिङ गर्ने सेड्युल । फिल्मको स्टोरी अनुसार त्यो दृश्य गर्मी यामको दृश्य थियो । पुसको जाडोमा गर्मी महिनाको सिन दिनका लागी टिसर्ट मात्रै लगाउनुपर्ने । यो दिनले मलाई एउटा कुरा के सिकायो भने फिल्म बन्न कति गार्‍हो छ अनि कलाकार बन्न कति गार्‍हो छ ? कलाकार भैसकेपछि आफ्नो धर्म पालना गर्नुपर्छ र कलाकारितामा हुनुपर्ने गुणहरु के के हुन् त ? भन्ने कुरा मैले यहि दिन सिकेँ । मसंगै विल्शनविक्रम राई, आदित्य बुढाथोकी, मानव सुवेदी पनि त्यस्तै ड्रेसमा रातीको सुटिङ सके । केहि राम्रो गर्नु छ भने त्यसका लागी दुखसंग लड्नुपर्छ भन्ने कुरा पनि यो फिल्मले मलाई सिकाएको छ । 
 
मानव सुवेदी :- खासमा यो फिल्ममा धेरै त्यस्ता किस्साहरु छन् जुन अहिले सम्झिँदा निकै रमाईलो लाग्छन् । हरेक दिनको एउटा न एउटा रमाईलो किस्सा मलाई याद छ । तर एउटा रमाईलो कुरा के भने, मैले विल्शनविक्रम राईलाई बाईकको पछाडी राखेर कुदाउनुपर्ने दृश्य थियो । शहरको बिच भागमा धेरै मान्छेहरुले हामीलाई हेरिरहेका थिए । मलाई खासमा बाईक कुदाउन त्यति आउँदैन । फेरी मलाई नै त्यहि दृश्य परेको । क्यामेरा अगाडी थियो, राम दाईले एक्सन भन्नुभो अनि मैले बाईक कुदाउनुपर्ने भो । तर बाईक त काँ कुद्थ्यो उड्यो पो । पछाडी बसेका विल्शनले मलाई च्याप्पै समाते । वरिपरी बसेर सुटिङ हेरिरहेका मान्छेहरु बेस्मारी हाँस्न थाले । हाम्रो सुटिङ युनिट पनि खुब हाँसे । त्यो सम्झिँदा मलाई अझै पनि बेस्मारी हाँसो लाग्छ । 
 
सोना तिम्सिना :- मलाई नेपथ्यको सुटिङका ती दिनहरु बारम्बार आईदिएपनि हुन्थ्यो जस्तो लाग्छ । प्रत्येक दिन वनभोजमा गएर रमाईलो गरेजस्तै रमाईलो । सबैजना रमाईला, सहयोगी अनि आत्मिय । मलाई काम गर्दा पनि आफ्नै परिवारका सदस्यसंग काम गरेको भान भैरहेको थियो । सबै पलहरु मलाई रमाईला नै लाग्छन् । अँ, एकदिन भने मैले जिवनमा अहिलेसम्म नगरेको एउटा कुरा फिल्मको दृश्यका लागी गर्नुपर्ने भयो । झाडीमा लुकेर चुरोट खाने दृश्य थियो, त्यसका लागी म तयार भएँ । चुरोट सल्काएँ, ताने अनि फालेँ । तर मैले चुरोट खान जानिन । पछि चुरोट खानका लागी धेरै जनाले यसरी खानुपर्छ भनेर सिकाए, अनि मैले पनि त्यस्तै गरेँ । तर जब चुरोटको धुँवा घाटी हुँदै छिर्‍यो तब खोक्न शुरु भयो । भनभनी घुमेजस्तो भयो, अनि एकजनाले पानी ल्याएर दिए त्यसपछि भने केहि शान्त भयो । यो सम्झिँदा मलाई अहिले निकै रमाईलो लागिरहेको छ । फिल्म राम्रो बनेको छ त्यसैले यसको सफलताको स्वाद हामी सबैले चाख्न पाउनेछौँ भन्नेमा विश्वस्त छु ।