जेठ २६, २०७० : समग्र नेपाली फिल्मकर्मीहरूको प्रतिक्षाको दिन । नेपाली फिल्मी अनलाईन पत्रकारिताको अग्रणी संस्था फिल्मीखबर मिडियाले यस दिनलाई फिल्मकर्मीहरूको उत्सवको रूपमा सेलिब्रेट गर्दैछ ।
अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०लाई सभ्य र भव्य रूपले सम्पन्न गर्न फिल्मीखबर मिडियाले अन्तिम तयारी गरेको छ । अवार्डको पहिलो संस्करण भएकाले १४ बिधामा पपुलर अवार्ड, एक जुरी अवार्ड, एक जना फिल्मकर्मीलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड सहित फिल्मीखबर सम्मान प्रदान गरिंदै छ ।
'अवार्ड' भन्ने वित्तिकै प्राय पाउने खुसी र नपाउने दु:खी हुने प्रचलन छ । तर, अवार्ड निश्पक्ष र सम्मानित भएको खण्डमा आफूले नपाएपनि सो अवार्डको सम्मान गर्नेहरू नेपाली फिल्म क्षेत्रमा धेरै नै छन् । ओफा २०७०को सेरोफेरोमा रहेर फिल्मीखबरले केहि फिल्म निर्देशकहरूसँग उनीहरूको अवार्ड अनुभवका बारेमा कुराकानी गरेको छ ।
.jpg)
उज्जवल घिमिरे
पहिलो पटक फिल्म विश्वासबाट उत्कृष्ट फिल्म लगायत अन्य धेरै बिधाहरूमा अवार्ड पाउँदा निकै खुसी भएको थिएँ । बिचमा फिल्म किस्मतबाट उत्कृष्ट निर्देशक लगायत थुप्रै बिधाहरूमा मनोनयमा पर्दा पनि उल्लेख्य बिधाहरूमा अवार्ड नपाउँदा भने दु:ख लाग्यो । त्यो बेला मलाई मेरो फिल्म भन्दा कमजोर फिल्मले अवार्ड पाएको फिल भयो । व्यसायिक रूपमा सफल हुन नसकेको मेरो फिल्म छोडी गए पाप लाग्लाले राष्ट्रिय पुरस्कार सहित केहि अवार्ड समारोहमा उत्कृष्टताको अवार्ड पाउँदा कामको उचित मुल्याङ्कन भयो भन्ने लाग्यो । पक्कै पनि अवार्ड एक किसिमको उर्जा नै हो । सहि प्रतिभाले पायो भने त्यसको सम्मान हुन्छ अन्यथा अपमान ।

विकास आचार्य
पहिलो पटक २०६४ सालमा दाईको ससुराली फिल्मबाट लेखनमा अवार्ड पाएको थिएँ । अत्यन्तै खुसी लाग्यो । कामको सहि मूल्याङ्कन भयोभने मनोवल बढ्छ, प्रोत्साहन हुन्छ । आफ्नो काम सबैलाई सर्वश्रेष्ठ नै लाग्छ । आफू भित्रको अहंकारले जित्छ तर त्यो गलत हो । आफूलाई ठिक लागेको चिज अरूलाई बेठिक लाग्न पनि सक्छ । त्यसैले यसलाई सकारात्मक रूपमा लिन सक्नुपर्छ । आजसम्म मैले नेपालमा भएका प्राय सबै अवार्डहरू पाईसकेको छु । यसमानेमा मेरो कामको उचित मूल्याङ्कन भएछ भन्ने मलाई लागेको छ ।

सुरज सुब्बा 'नाल्बो'
फिल्मको स्क्रिप्ट राईटर हुँदै आज निर्देशकको रूपमा क्रियाशिल रहिरहँदाको यो लामो अन्तरालमा अवार्डसँग जोडिएका थुप्रै अनुभवहरू छन् । पाउँदा खुसी लाग्नु र नपाउँदा केहि हदसम्म दु:खी हुनु मानविय स्वाभाव नै हो । तरपनि आफ्नो कामको मूल्याङ्कन अरूले गर्नु भन्दा अगाडी आफैले गर्न सक्नुपर्छ । अवार्ड पाउनु भन्दा पनि थुप्रै प्रतिश्पर्धी साथीहरूको माझ नोमोनेशनमा पर्नु नै जीत हो जस्तो लाग्छ । सबैले उत्तिकै मेहनत गरेर काम गरेका हुन्छन् । मेहनतको फल मिठो हुँदा स्वाभाविक रूपमा खुसी लाग्छ नै । पछिल्लो समय मैले बाटो मुनिको फूल, सायद जस्ता फिल्मबाट देशबिदेशमा थुप्रै अवार्डहरू पाएँ । यसले मलाई अझै सिर्जनशिल हुन प्रेरणा दिएको छ ।

सबिर श्रेष्ठ
मेरो पहिलो फिल्म कस्ले चोर्यो मेरो मन नोमिनेशनमा पर्दा राम्रै काम गरेकाले केहि आशा त थियो तर अवार्ड पाउँछु नै भन्ने विश्वास अलि कम थियो । स्टेजमा पुगेर उत्कृष्ट निर्देशकको अवार्ड थाप्दा काम गर्दाको दु:खहरू सम्झिएँ, संघर्ष सफल भए झैं लाग्यो । अवार्डले कुनै पनि कलाकार, प्राबिधिकलाई अझ हौसला प्रदान गर्ने मैले अनुभव गरेको छु । अवार्ड आफैमा एउटा उर्जा हो जसले सिर्जनालाई निखार्न अझ मद्दत पुर्याउँछ ।

