क्यू सिस्टम औपचारिक रूपमा खारेज भैसकेको छैन तर बालाजुमा रहेको गंगा हलका सञ्चालक मदनमान बज्राचार्यसंग निर्माता संघका पदाधिकारीको विवाद भएको छ । गत हप्ता रिलिज भएको अर्जुनदेव उतारी मदनमानले मृगतृष्णा चलाएपछी आज बिहान यो बिषयमा निर्माता संघका पदाधिकारी र मदनमानको केही समय जुहारी चलेको हो ।
'सहमतिमा क्यू खारेज गर्ने कुरा थियो तर लाईनमा भएको फिल्मलाई साईड लगाएर अर्को चलाएपछी अध्यक्ष सहित केही सदस्य गंगा हल पुगी हामीले अर्जुनदेव नै पुन: चलाउने दबाव दिएका छौ', निर्माता संघका सचिव सुरेश दर्पण पोखरेलले जानकारी गराए । पोखरेलका अनुसार बिहानी शो मृगतृष्णा चलाएको कारण अर्जुनदेवलाई गंगा हलले क्षतिपुर्ति स्वरूप २० हजार पनि दिने भएको छ ।
यस्तै यो बिषयमा मदनमानले होल्ड ओभर टुटेका कारण आफूले मृगतृष्णा चलाएको बताए । उनले भने, 'होल्डओभर पुग्नलाई ४ हजार रकम पुगेन त्यसैले आज बिहान मृगतृष्णा चलाएको थिए तर क्यू विवाद छिनोफानो नभएको कारण निर्माता संघको आग्रहमा पुनः अर्जुनदेव चलाउने निर्णय गरेको छु ।' तर २० हजार क्षतिपुर्तिको सम्बन्धमा मदनमान सो रकम क्षतिपुर्ति नभएको बताउँछन् । उनी भन्छन्, '२० हजार दिएर मैले यो सिनेमा भोली पनि उतार्न सक्छु त्यसैले दिएको हुँ ।'
बिहान केही बेरको लफडा पश्चात अर्जुनदेवको नियमित प्रदर्शन १२ बजेबाट सुरू भएको छ । अर्जुनदेव पश्चात रिलिज पालो नैना रेशमको हो । जसलाई सर्वपक्ष सहमतिबाट पार लगाउने तयारी भैरहेको थियो तर विवाद नसल्टिई साईडको सिनेमा क्यूमा हालिदिएपछी निर्माता संघले आपत्ती जनाउदा बिहान केही समय लफडा भएको हो ।हाल क्यूमा ४० को संख्यामा फिल्महरू छन् त्यस मध्ये २५ वटा फिल्म मापदण्ड भित्र पर्ने लिष्ट निर्माता संघले निकालेको छ । तसर्थ २५ वटा फिल्मलाई पार लगाउदै क्यू हटाउने तयारीले पनि गति लिईरहेको छ । आईतबार क्यू विवाद कसरी हटाउने भन्ने बिषयमा निर्माता र प्रदर्शकको छलफल पनि हुँदैछ ।

