राजधानीमा दुई साता सम्म चलेर तीन वटा थिएटरमा सिमित भएको भुवन केसीको सिनेमा 'साथी म तिम्रो' लाई आजबाट कुमारी हलमा स्थान दिईएको छ ।
क्यूएफएक्स च्यानलको जयनेपालबाट होल्डओभर गिराउदै उत्रिएको उक्त सिनेमालाई दर्शकले लाष्ट आवरमा डिमान्ड गरेपछी क्यूएफएक्सको अर्को च्यानल कुमारीमा आजदेखि पुनः लगाईएको हो । मध्यान्न १२ बजेको एक शो मात्र दिईएको 'साथी म तिम्रो' गत फागुन १९ गतेदेखि रिलिज भएको सिनेमा हो जुन सिनेमा देशब्यापी रूपमा ५० वटा सिनेमा घरमा एक साथ रिलिज भएको थियो ।
बाबुछोराको सम्बन्धमा केन्द्रित सिनेमा तेस्रो सातामा अहिले राजधानीका अष्टनारायण, गोपी, गुण र कुमारीमा प्रदर्शनरत छ र राजधानी बाहिरका केहि स्टेशनमा यथावत छ । मेनस्ट्रिमको सिनेमालाई बिशेषगरी अभिभावक र बालबालिकाहरूले रूचाएको पाईयो । जसकारण कलेक्सनमा कछुवाको तालले यो सिनेमाले आफ्नो लगानी सुरक्षित गरेको बुझिएको छ । यध्यपी कलेक्सनको बिषयमा भुवन केसीले मुख खोलेनन् ।
कलेक्सको बारेमा मुख नखोले पनि भुवनले भने, 'काजोल फिल्मसले जहिले पनि सन्देश दिने प्रकृतिको सिनेमा बनाउँछ त्यसैले मेरो फिल्मले दर्शकको मन छुन सफल हुदै लगानी सुरक्षित गरेको छ ।' सिनेमामा ६ बर्षे बालक शिर्षक सापकोटा र भुवनको भावनात्मक सम्बन्धको कथाले दर्शकलाई तानेको हो । सिनेमा अझै ७० वटा थिएटरमा लाग्न बाँकी रहेको भुवन बताउँछन् ।

