
काठमाडौं । किशोर चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘प्रेम अध्याय’को संयुक्त राज्य अमेरिकामा विशेष प्रदर्शनी गरिएको छ । आइतबार टेक्ससको इर्भिङ मलस्थित एएमसी थिएटरमा भएको प्रदर्शनीमा फिल्मका कलाकारसहित अमेरिकाबासी नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । फिल्म हेरेपछि दर्शकहरूले कथावस्तुको खुलेर प्रशंसा गरेका थिए ।
प्रेम, भावना र मानवीय सम्बन्धका उतारचढावमा आधारित फिल्मले फरक स्वाद पस्किएको उपस्थित दर्शकको प्रतिक्रिया थियो । फिल्मको प्रदर्शनीपछि कलाकार सरोज खनालले दर्शकसँग अन्तरक्रिया पनि गरेका थिए । उनी यही फिल्मको प्रदर्शनीका लागि यसै साता अमेरिका पुगेका हुन् । उनले ‘प्रेम अध्याय’मा निभाएको भूमिका आफ्नो लागि विशेष रहेको बताए ।
भरतपुरको चितवनमा छायांकन गरिएको फिल्ममा सरोजसहित रामशरण चौधरी, ऋचा थापा, मुकुन्द श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ । किरण चौधरीको निर्माण रहेको फिल्ममा विष्णु परियारको छायांकन तथा किशोर चौधरीको सम्पादन छ । फिल्मलाई यसै वर्ष नेपालमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

