Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ५’को व्यापार खस्कियो, पछिल्लो ७ दिनमा ५४ लाख कमाइ

फिल्मीखबर, काठमाडौं, 2026/11/16

kabaddi5

 

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५’ले यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्‍यो । झन्डै २ करोड हाराहारीको ग्रस ओपनिङ गरेको फिल्मले पहिलो १० दिनमा साढे १० करोडमाथिको व्यापार गरेको थियो । तर, यसपछि भने फिल्मको व्यापार खस्किएको छ । फिल्मले दोस्रो र तेस्रो साता बक्स अफिसमा ठूलो अंक जोड्न सकेन । 

फिल्मले पहिलो १० दिनपछिको एक सातामा १ करोड ६३ लाख रुपैयाँ कमाएको थियो । पछिल्लो ७ दिनमा भने फिल्मले एक करोड पनि जोड्न सकेन । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार आइतबारसम्म फिल्मले १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ ग्रस कमाएको छ । त्यसमा पछिल्लो ७ दिनको योगदान ५४ लाख २३ हजार १९२ रुपैयाँ मात्र छ ।

फिल्मको ओपनिङ र पहिलो १० दिनको कमाइ हेर्दा अलटाइम कलेक्सन २० करोड नाघ्ने आँकलन गरिएको थियो । तर, दर्शकीय प्रतिक्रिया कमजोर हुँदा दोस्रो साताबाट फिल्मको कमाइमा ठूलो गिरावट आयो । तेस्रो सातामा थप कमजोर बनेको फिल्मले अब बढीमा ४०−५० लाख रुपैयाँ जोड्न सक्ने देखिन्छ । त्यो हुँदा फिल्मको कुल कमाइ साढे १३ करोड हाराहारी पुग्न सक्छ । 

‘कबड्डी ५’ले दोस्रो सातादेखि अपेक्षित व्यापार गर्न नसके पनि यसले तीनवटा रेकर्ड भने बनाएको छ । पहिलो, यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म । दोस्रो, यस वर्ष पहिलो १० दिनमा सर्वाधिक कमाइ गर्ने फिल्म । र तेस्रो, यस वर्ष सबैभन्दा धेरै कमाइ गर्ने दोस्रो नेपाली फिल्म । यी रेकर्ड पनि फिल्मका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

‘कबड्डी ५’ले आफ्ना अघिल्ला तीनवटा श्रृंखलालाई समेत कमाइमा उछिनेको छ । बोर्डको विवरणअनुसार ‘कबड्डी’ले ७ करोड ३४ लाख, ‘कबड्डी २’ले १० करोड ३५ लाख र ‘कबड्डी कबड्डी कबड्डी’ले ७ करोड ५९ लाख कमाएको थियो । चौथो श्रृंखलाको कमाइ भने २१ करोड ४० लाख रुपैयाँ ग्रस छ । चार वर्षअघि यो नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइको कीर्तिमान थियो ।