.jpg)
काठमाडौं । कात्तिक २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ बक्स अफिसमा कमजोर देखिएको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मको पहिलो १० दिनको कमाइ ५० लाख रुपैयाँ पनि पुगेको छैन । फिल्मले आइतबारसम्म १२ हजार २९४ वटा टिकट बिक्रीबापत ४३ लाख ५० हजार ४८३ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
कात्तिक ६ गते प्रदर्शन भएको फिल्म ‘कबड्डी ५’को व्यापार भने झन्डै १३ करोड हाराहारी पुगेको छ । बोर्डको तथ्यांकअनुसार फिल्मले २९ कात्तिकसम्म १२ करोड ९४ लाख १५ हजार ४३७ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म फिल्मका ४ लाख २२ हजार ८८० वटा टिकट बिक्री भएका छन् । यो यस वर्ष सर्वाधिक कमाउने दोस्रो नेपाली फिल्म हो ।
‘कबड्डी ५’पछि दोस्रो ठूलो व्यापार ‘पेन्सन पट्टा’को छ । यसले आइतबार (हिजो)सम्म १० करोड ३५ लाख ७८ हजार ४७८ रुपैयाँ ग्रस कमाइ गर्दै ३ लाख ६४ हजार ५२० वटा टिकट बिक्री गरेको छ । रोचक कुरा के छ भने ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ दुवैमा दयाहाङ राई मुख्य भूमिकामा छन् । यस वर्ष कुनै अभिनेताको फिल्मले लगातार १० करोडमाथिको व्यापार गरेको यो पहिलो हो ।
दसैंमा प्रदर्शन भएका तीन फिल्ममा भने ‘आ बाट आमा २’ले सर्वाधिक कमाइ गरेको छ । यसले २ लाख ४१ हजार ९६ वटा टिकट बिक्री गर्दै ६ करोड ९१ लाख ३७ हजार ३१२ रुपैयाँ ग्रस कमाएको छ । दोस्रो स्थानमा ३ करोड ४३ लाख १७ हजार ४५ रुपैयाँ ग्रससहित ‘छ माया छपक्कै २’ छ भने तेस्रोमा २ करोड ३२ लाख ९६ हजार ३७१ रुपैयाँ ग्रससहित ‘१२ गाउँ २’ छ ।

