
काठमाडौं । गत वर्षको ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपक प्रसाद आचार्य (काकु)को दोस्रो निर्देशकीय फिल्म ‘चिरञ्जीवी भवः’को पहिलो झलकस्वरूप दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते प्रदर्शन हुने फिल्मका दुई पोस्टरमा खुसी र पीडाको मिश्रण छ । पोस्टरले फिल्ममा दुई पुस्ताको कथा प्रस्तुत गरिएको संकेत गर्छ ।
एक पोस्टरमा हरिवंश आचार्य र आशीर्वाद क्षेत्री देखिएका छन् । हजुरबुबाको भूमिकामा रहेका हरिवंशले आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य पोस्टरमा छ । दोस्रो पोस्टरमा हरिवंश र आशीर्वादसहित अभिनेत्री प्रशंसा रायमाझी पनि चित्रित छिन् । यसमा हरिवंश गम्भीर मुद्रामा देखिएका छन् । यी दुई पोस्टरले फिल्म भावनात्मक सम्बन्धमा आधारित रहेको प्रस्ट पार्छन् ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश, आशीर्वाद र प्रशंसासहित करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायतका कलाकारको पनि अभिनय छ ।
हास्य कलाकार कुमार कट्टेल (जिग्री ब्रो)को कथा रहेको फिल्ममा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन छ । फिल्ममा उमेशकुमार बराल र चिरन केसी निर्माता तथा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन तथा बाबु गिरी, सुशान्त गौतम, निरन्जन थापा र समीर खरेलको संगीत छ ।

