
नेपाली फिल्मको ‘स्क्रिप्ट राइटर’को रूपमा परिचित सुमन गजमेरले अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले फिल्म ‘हाम्रो सानो घर’बाट निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । दशैंपछि छायांकन सुरु हुने फिल्मले जेनजी पुस्ता (जेनेरेसन–जेड)को कथा भन्नेछ ।
फिल्मको घोषणा गर्दै निर्देशक गजमेरले भने, ‘नेपाली दर्शकलाई फरक स्वादको प्रेमकथा पस्किने प्रयास गरेका छौं । अहिलेको जेन–जी पुस्ताले समाज र सम्बन्धलाई कसरी हेर्छ भन्ने प्रश्न पनि फिल्मले उठाउनेछ ।’ उनका अनुसार फिल्ममा नेपाली समाजमा विद्यमान जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षालाई पनि प्रस्तुत गरिनेछ ।
ओस्कार इन्टरनेसनल कलेजबाट फिल्म लेखन तथा निर्देशन विषयमा स्नातक अध्ययन पूरा गरेका गजमेरले ‘रंगी’, ‘एक्का तीन: च्याप्टर १’, ‘शेर्वा’, र ‘भित्ते पात्रो’ जस्ता फिल्ममा लेखकको रूपमा काम गरिसकेका छन् । उनीसँग ‘कठपुतली’, ‘बाबरी’, ‘महापुरुष’ र ‘बलिदान’ लगायतका फिल्ममा सहायक निर्देशकका रूपमा काम गरेको अनुभव पनि छ ।
निर्देशक गजमेर स्वयंको लेखन रहेको ‘हाम्रो सानो घर’को निर्माण रे अफ आर्टले गर्नेछ । यो कम्पनीले यसअघि मदन थापाको निर्देशनमा फिल्म ‘परिवार’ निर्माण गरिसकेको छ, जुन हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । फिल्ममा अहिलेसम्म कलाकार र प्राविधिक टोलीको भने टुंगो लागेको छैन । यसबारे केही दिनमा जानकारी गराइने निर्देशक गजमेरले बताए ।

