
नेपाली फिल्मका दुई चर्चित कलाकार केकी अधिकारी र आयुष्मान देशराज जोशी बिहीवार आफ्नो जन्मदिन मनाइहेका छन् । फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी केकी र फिल्म ‘चपली हाइट २’ बाट अभिनेताको रुपमा ब्रेक पाएका आयुष्मानले यसपटक परिवारसँग जन्मदिन सेलिब्रेट गर्दैछन् । दुवैलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामनाको ओइरो लागेको छ ।
३१ वर्षमा प्रवेश गरेकी केकी अधिकारीको जन्म २०४६ साल पुष ३ गते भएको हो । सामाजिक सञ्जाल फेसबुकमा भने डिसेम्बर १७ अर्थात् पुष २ गते उनको जन्मदिन उल्लेख छ । उनले आफ्नो जन्मदिन दुई दिन भएको बताउने गरेकी छन् । सामाजिक सञ्जाल, फ्यान अनि मिडियाको लागि डिसेम्बर १७ र घर-परिवारको लागि पुष ३ गते आफ्नो जन्मदिन रहेको उनी बताउँछिन् ।
केकीले कलाकारिता सुरु गरेको १० वर्ष भइसकेको छ । यो अवधिमा उनले तीन दर्जन बढी फिल्ममा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी छन् । यीमध्ये ‘छ माया छपक्कै’ उनी सोलो अभिनेत्रीको रुपमा रहेको पहिलो सुपरहिट फिल्म हो । ‘कोहलपुर एक्सप्रेस’ बाट फिल्म निर्माणमा समेत होमिएकी उनी दुई नयाँ फिल्म ‘बोक्सीको घर र कहानी तिम्रो मेरो’ पनि निर्माण गर्दैछिन ।
त्यस्तै, आयुष्मान देशराज जोशी बिहीवारबाट २८ वर्षमा लागेका छन् । २०४९ साल पुष २ गते उनको जन्म भएको हो । ‘चपली हाइट २’ पछि फिल्म ‘चंगा चेट, कथा काठमाण्डू, सानो मन र प्रेम दिवस’ मा काम गरेका उनी कुशल अभिनय गर्ने अभिनेताको रुपमा चिनिन्छन् । ‘सानो मन’ बक्सअफिसमा असफल भए पनि यसमा उनले गरेको अभिनयको निकै प्रशंसा भएको थियो ।
अभिनेत्री केकी अधिकारी र अभिनेता आयुष्मान देशराज जोशीलाई फिल्मीखबर परिवारको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना ।

