
अभिनेत्री तनुश्री दत्ताले यौन उत्पीडनको आरोप लगाएपछि दुई वर्षसम्म अभिनेता नाना पाटेकरले कुनै फिल्म गरेनन् । अब भने उनी काममा फर्किएका छन् । उनी चाँडै फिरोज नाडियाडवालाको एक वेब सिरिजमा देखिनेछन् । उनी काममा फर्किएपछि तनुश्रीले आक्रोश पोखेकी छन् । आफ्नो लडाईंमा साथ दिनुको सट्टा नाना पाटेकरलाई निर्माताले सपोर्ट गरेको उनको गुनासो छ ।
उनले भनेकी छन्, ‘मेरो शोषण, मेरो बेइज्जत, प्रताडित गर्ने, धम्की दिने, मलाई र मेरो परिवारमाथि हमला गर्ने, मेरो घरमा गुण्डा पठाउने, मेरो करिअर र जिन्दगी बर्बाद गर्ने र मेरो दुई वर्षको न्यायको लडाईंका बावजूद यी व्यक्तिलाई ठूला निर्माताबाट सहयोग र भब्य कमब्याक मिल्छ ।’ विना कुनै गल्ती १२ वर्षदेखि आफूलाई फिल्मबाट टाढा बस्न बाध्य बनाइएको उनको भनाई छ ।
तनुश्रीले भनेकी छन्, ‘मानिसहरु सुशान्त सिंह राजपूतका लागि न्याय मागिरहेका छन् । मेरो लागि न्याय कहाँ छ ? कृपया, यो हुन नदिनुहोस् । जब म आफैं कमब्याकका लागि संघर्ष गरिरहेको छु भने यी व्यक्तिलाई फेरि काम नदिनुहोस् ।’ नोभेम्बर २०१८ मा तनुश्रीले नाना पाटेकरमाथि फिल्म ‘हर्न ओके प्लिज’ को सेटमा गलत तरिकाबाट छुने कोशिश गरेको आरोप लगाएकी थिइन् ।

