
डेनियल क्रेग स्टारर जेम्स बोन्ड सिरिजको फिल्म ‘नो टाइम टू डाई’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । यो फिल्म अप्रिल २०२० मा रिलिज हुँदै थियो । तर, कोरोनाको डरले फिल्मको रिलिज अप्रिल २०२१ पुर्याइएको छ । कोरोनाका कारण हलमा रिलिज हुन नपाएको यो फिल्म ओटीटीमा रिलिज हुने चर्चा पनि चलिरहेको छ । तर, अहिलेसम्म यसको पुष्टि भएको छैन ।
फिल्मको निर्माण कम्पनी ६ सय मिलियन अमेरिकी डलरमा ओटीटीमा ‘नो टाइम टू डाई’ रिलिज गर्न तयार छ । तर, यति ठूलो रकम तिर्न कुनै ओटीटी प्लेटफर्म तयार देखिएका छैनन् । यो फिल्म २५ करोड डलरमा निर्माण भएको हो । कोरोनाका कारण निर्धारित मितिमा फिल्म प्रदर्शन नहुँदा महिनामा करीब ८ करोड ब्याज बढिरहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
क्यारी फुकुनागाको निर्देशन रहेको ‘नो टाइम टू डाई’ मा अस्कर विजेता रामी मालेक भिलेनको भूमिकामा छन् । अना दे अर्मस र ल्याशना लिन्चको पनि प्रमुख भूमिका छ । डेनियल क्रेगले सन् २००६ मा ‘क्यासिनो रायल’ बाट जेम्स बोन्डमा इन्ट्री लिएका थिए । ‘नो टाइम टू डाई’ पछि लशाना लिन्चले डेनियललाई रिप्लेस गर्नेछिन् । यो फिल्म जेम्स बोन्ड फ्रेन्चाइजको २५औं श्रृंखला हो ।

