Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

पूजा र प्रकाश विवाद : सात फिल्म संस्थाको निर्णयको विरोध

फिल्मीखबर, काठमाण्डौ, 2020/08/16
एपी वानमा प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले एक अभिनेत्रीको शारीरिक बनावटलाई लिएर अशिष्ट शब्द प्रयोग गरेपछि उनको व्यापक विरोध भयो । उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै अभिनेत्री पूजा शर्माले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थामा उजुरी दिएकी छन् । यद्यपि, पत्रकार सुवेदीले आफूले बोल्न नहुने शब्द बोलेको भन्दै माफी मागिसकेका छन् । 
 
 
अभिनेत्री शर्माको निवेदनप्रति नेपाली फिल्मका ७ संस्थाले एकबद्धता जनाउँदै पत्रकार सुवेदीले सञ्चालन गर्दै आएको ‘रजतपट’ र ‘ग्लामर गफ’ कार्यक्रममा सहभागी नहुन फिल्मकर्मीलाई आग्रह गरेको छ । दुई पक्षबीच सहमति नभएसम्म अथवा कानुनमार्फत समस्या नसुल्झिएसम्म कलाकारलाई उक्त दुई कार्यक्रममा सहभागी नहुन फिल्म सम्बद्ध सात संस्थाले आग्रह गरेका हुन् ।
 
‘चलचित्र, चलचित्रकर्मी र विशेष गरेर नायिकाहरुलाई तुच्छ टिप्पणी गर्ने र हिंसाजन्य क्रियाकलाप गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि सबै चलचित्रकर्मीहरुले ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ कार्यक्रममा प्रस्तुत विषयबाट उब्जिएको विवाद वार्ता वा कानुनमार्फत् नसुल्झिएसम्म कुनै पनि सहभागिता नजनाउनुहुन चलचित्रकर्मीहरुलाई अनुरोध गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।
 
अभिव्यक्ति र स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्न, शारीरिक बनावट अशिष्ट आक्षेप लगाउन र व्यक्तिगत चरित्र हत्या गर्न कसैलाई अधिकार नभएको नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघ द्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ । 
 
तर, सात संस्थाले एकबद्धता जनाउँदै जारी गरेको विज्ञप्तीको फिल्मकर्मीहरुले नै आपत्ति जनाएका छन् । पत्रकार सुवेदीले आफूबाट गल्ती भएको भन्दै माफी मागिसकेको अवस्थामा फिल्म सम्बद्ध संघ-संस्था मिलेर फिल्मकर्मीलाई कार्यक्रममा नजान आग्रह गर्नु दुर्भाग्यपूर्ण निर्णय रहेको फिल्मकर्मीहरुको तर्क छ । यो निर्णय तत्काल सच्याउन फिल्मकर्मीहरुले आग्रह गरेका छन् । 
 
सात संस्थाको निर्णय गलत रहेको भन्दै निर्देशक प्रदीप भट्टराईले फेसबुकमा लेखेका छन्, ‘रिसको झोकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय जस्तो पो लाग्यो है, सात संस्थाको निर्णय ।’ अभिनेत्री रेखा थापाले निषेधले निषेध र बहिष्कारले बहिष्कार जन्माउने भन्दै स्टाटस लेखेकी छन् । त्यस्तै, निर्माता संघका महासचिव रोज राणाले सात संस्थाको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन् । 
 
 
अघिल्लो हप्ताको ‘रजतपट’ श्रृंखलामा पत्रकार सुवेदीले कुनै अभिनेत्रीको नाम उच्चारण नगरी भनेका थिए, ‘आफैं नजान्ने अनि हामीले चाहिँ लिएको इन्टरभ्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ अभिनेत्री पूजाले यो टिप्पणी आफूप्रति लक्षित रहेको भन्दै आपत्ति जनाएपछि फिल्मकर्मीहरुले पनि उनलाई साथ दिएका छन् ।
Most Visited News (monthly)