.jpg)
चकलेटी अभिनेता जीवन लुईंटेल कवि पनि हुन् । फिल्म अभिनयमा सक्रिय रहँदा उनले ‘नायक’ शिर्षकको कविताको पुस्तक प्रकाशन गरेका थिए । बाल्यकालदेखि नै साहित्यमा रुची भएका उनी सामाजिक सञ्जालमा आफूले सिर्जना गरेका कविताका हरफहरु पोस्ट गरिरहेका हुन्छन् । आफैंले वाचन गरेको कविताको भिडियोमा पनि उनले सार्वजनिक गर्ने गरेका छन् ।
केही वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका उनले शनिवार फेसबुकमा एक स्टाटस पोस्ट्याएका छन्, जसमा उनले अब आफू मुटुसँग हड्ताल गर्ने उल्लेख गरेका छन् । ‘हो, तपाईं सही हुनुहुन्छ निश्चित रूपमा मैले आफ्नो दिमाग गुमाएको छु । मलाई फेरि छाड्ने प्रयास नगर्नु किनकि मैले आफ्नो दिमाग बन्द गरिसकेको छु र आफ्नो मुख बन्द गरेको छु,’ उनले लेखेका छन् ।
जीवनले अब आफू मुटुसँग हड्ताल गर्ने भन्दै अगाडि लेखेका छन्, ‘हो म पागल हो पागल, चाहे कुकुर सम्झ चाहे मान्छे ।’ उनको यो साहित्यिक शैलीको स्टाटसले कसैप्रति प्रेम आसक्ति व्यक्त गर्छ । उनको अभिनयसँगै साहित्यिक सिर्जनालाई पनि दर्शकहरुले रुचाउने गरेका छन् । उनले केही समयअघि अभिनेता राजेश हमाललाई समर्पित गरेर एक कविता पनि वाचन गरेका थिए ।
‘तिर्खा’ बाट अभिनय करिअर सुरु गरेका जीवनले फिल्म ‘नसिब आफ्नो’ बाट लिड अभिनेताको रुपमा ब्रेक पाएका थिए । तर, उनलाई विकासराज आचार्य निर्देशित ‘नाईं नभन्नू ल’ बाट सफलता मिलेको थियो । एक समय लभस्टोरी फिल्ममा निकै रुचाइएका जीवनले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । तर, अमेरिका पलायन भएपछि उनी काँचको पर्दाबाट टाढा छन् ।

