फिल्म समीक्षकले दीपेन्द्र के. खनाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशक भन्ने गरेका छन् । ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘आमा’ मा उनले उठान गरेका विषयवस्तुले दर्शकको मन जितेको थियो । फिल्ममा उनको कथा पस्कने शैलीको प्रशंसा हुने गरेको छ । मौलिक कथावस्तुको खोजी गर्ने उनी कोरोनाको महामारी साम्य भएपछि दुई फिल्म ‘चिसो मान्छे’ र ‘लकडाउन’ बनाउँदैछन् ।
कोरोनाका कारण जारी लकडाउनको समयमा घरभित्रै बसेर ‘चिसो मान्छे’ को स्क्रिप्ट लेखेका उनी यो फिल्म प्रदर्शन भएपछि ‘लकडाउन’ को तयारीमा जुट्नेछन् । दुवै फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । फिल्म ‘लभ लभ लभ’ बाट उनले निर्देशक खनालसँग व्यवसायिक सहकार्य गर्दै आएकी छन् । अहिले उनीहरुलाई फिल्म क्षेत्रको बलियो टिम समेत भनिन थालिएको छ ।
 (1)(1).jpg)
निर्देशक खनालले ‘धनपति’ पछि आफूले निर्माण र निर्देशन गर्ने हरेक फिल्ममा अभिनेत्री सुरक्षा पन्तलाई लिँदै आएका छन् । एउटै अभिनेत्रीलाई लिएर फिल्म क्षेत्रमा ग्रुपिज्म गरेको आरोप उनीमाथि छ । तर, कथामा सुहाउने भएका कारण सुरक्षालाई फिल्ममा लिने गरेको उनी बताउँछन् । आफू ग्रुपिज्मको विरोधी रहेको र प्रतिभावान व्यक्तिले अवसर पाउनु पर्ने उनको तर्क छ ।
उनले एकसाथ ‘चिसो मान्छे’ र ‘लकडाउन’ घोषणा गरेपछि यी दुई फिल्ममा पनि अभिनेत्रीमा सुरक्षा हुने चर्चा चलिरहेको छ । अभिनेतामा अर्पण थापाको नाम सुनिएको छ । तर, अहिलेसम्म फिल्मका लागि एक जना कलाकार पनि छनौट नभएको दीपेन्द्र बताउँछन् । दुवैसँग आफ्नो राम्रो सम्बन्ध भएका कारण बजारमा त्यसप्रकारको हल्ला चलेको हुनसक्ने उनको अनुमान छ ।
उनी भन्छन्, ‘उहाँहरुसँग केही फिल्ममा काम गरेका कारण ‘चिसो मान्छे’ र ‘लकडाउन’ मा पनि दोहोरिन सक्ने अनुमान काटिएको होला । तर, यी दुई फिल्मको बारेमा उहाँहरुसँग कुरा भएको छैन । स्क्रिप्ट फाइनल भएपछि कलाकार छनौट गर्नेछौं । अहिले स्क्रिप्टमै काम भइरहेको छ । कथामा उहाँहरु सुहाउने हुनुभयो भने पुनः काम गर्न सक्छौं । नभए अरु कलाकार लिनेछौं ।’

