
कोरोनाको संक्रमणबाट बच्न सरकारले चार महिना लामो लकडाउन गर्यो । जसका कारण आम मानिसको जनजीवन प्रभावित भएको थियो । लकडाउनमा सबै क्षत्र बन्द हुँदा देश आर्थिक रुपमा कमजोर बन्यो । कोरोनाका कारण लाखौंको रोजीरोटी गुमेपछि सरकारले गएको महिना लकडाउन अन्त्य गर्यो । तर, पूर्व तयारी विना खोलिएको लकडाउनले अवस्था भयावह हुँदै गएको छ ।
लकडाउन अवधिभर राजधानीमा कोरोना संक्रमितको संख्या न्यून थियो । तर, लकडाउन अन्त्य भएपछि विभिन्न शहरबाट आउने मानिसहरुका कारण राजधानी असुरक्षित बन्दै गएको छ । दिन दुई गुना, रात चौगुना हुँदै फैलिएको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । चिकित्सकहरुले कसैसँग भेटघाट नगर्न, हात नमिलाउन, अङ्कमाल नगर्न आग्रह गरिरहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि मानिसहरुमा त्रासको वातावरण सृजना हुन थालेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हास्यकलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् । बिहीवार फेसबुकमा उनले लेखेका छन्, ‘कृपया मेरो घरतिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला । कोभिड १९ ।’
कलाकार घिमिरे लकडाउनपछि अत्यावश्यक काम बाहेक घरभन्दा बाहिर निस्किएका छैनन् । लकडाउन अन्त्य भएपछि विभिन्न शहरबाट आउने मानिसहरुका कारण राजधानी असुरक्षित हुन थालेपछि उनी आफ्नो घरमा आउने परिचित व्यक्तिबाट समेत डराउन थालेका छन् । त्यसैले उनले फेसबुकमै सूचना जारी गरेर आफूलाई भेट्न घरमा नआउन आग्रह गरेका छन् ।

