.jpg)
अस्कर इन्टरनेशनल कलेजमा अध्ययन गर्ने दश जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट बुरसरी अवार्ड प्राप्त गर्ने भएका छन् । कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट स्टुडियोसँग यो सालका लागि दश जनालाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिए । यसअघि स्टुडियोले ५ जनालाई वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको थियो ।
पौडेलका अनुसार, ३५ हजार रकमसहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गर्दै आइरहेको थियो । तर, यो साल प्रदान गर्ने बुरसारी शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो, दोस्रो र तेस्रो तीनै तहमा अध्ययन गर्ने विद्यार्थीले प्राप्त गर्नेछन् । १७ हजार ५ सय नगद रहेको यो छात्रवृत्रि पहिलो र दोस्रो वर्षमा चार–चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँडिने पौडेल बताए ।
‘कोरोना भाइरसका कारण विशेष परिस्थिति सिर्जना भएकोले अति आवश्यक विद्यार्थीलाई थोरै भए पनि राहत होस् भनेर यो अवार्ड दिने रहेछ । भविष्यमा यसले निरन्तरता पाउन पनि सक्छ र नपाउन पनि,’ पौडेलले प्रष्ट्याए । इन्फिनिट स्टुडियो र अस्कर कलेजले २०७३ सालदेखि सहकार्य गर्दै आएको छ । कलेज र स्टुडियोबीच अरु कुरामा पनि सहकार्य गर्ने सम्झौता भएको छ ।
अस्कर कलेजले बिहीबार स्थापना दिवस पनि मनाएको छ । १६ वर्षअघि स्थापना भएको कलेज विभिन्न उतार चढावको सामना गर्दै आजको अवस्थासम्म आएको प्रिन्सिपल पौडेलले बताए । उनले कलेजले ४ वर्षे कोर्स तयार गरिरहेको र नयाँ कोर्सले थप प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको पनि बताएका छन् । अस्कर कलेजले फिल्म सम्बन्धि विभिन्न विधामा अध्यापन गराउने गरेको छ ।

