Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल र एलिजा : फिल्ममा हुन नसकेको सहकार्य भिडियोमा

फिल्मीखबर, काठमाण्डौ, 2020/08/12
 
पत्रकार ऋषि धमलाले श्रीमति एलिजा गौतमलाई हिरोइन बनाउन निर्माण गरेको फिल्म थियो- ‘अनुराग’ । सत्यराज चौलागाईं निर्देशित फिल्ममा एलिजाको अपोजिटमा समुन्द्र पण्डित थिए । २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म चलाउन पत्रकार धमलाले हल पुगेका दर्शकको हात तानेर टिकट काउन्टरसम्म पुर्‍याए । एलिजाले आँशु पनि झारिन् । तर, कसै गरे पनि फिल्म हिट भएन ।
 
फिल्मको घोषणा हुँदा एलिजाको जोडीको रुपमा दीपक घिमिरे थिए । तर, फ्लोरमा निस्कने समयमा उनले फिल्म छाडे । यसपछि निर्देशक चौलागाईंले विभिन्न अभिनेतालाई फिल्मको स्क्रिप्ट सुनाए । यो फिल्म अभिनेता पल शाहलाई पनि अफर भएको थियो । उनीसँग निर्माण टिमको मौखिक सहमति समेत भएको थियो । तर, कागजी सम्झौता गर्ने दिन पलको निर्णय परिवर्तन भयो ।
 
उनले निर्देशक चौलागाईंसँग मह जोडीको ‘शत्रु गते’ पछि ‘अनुराग’ गर्ने वचन दिएका थिए । उनलाई स्क्रिप्ट चित्त बुझेको थियो । केही दिनमा कागजी सम्झौता गर्ने उनीहरुबीच सहमति पनि भएको थियो । तर, जुन दिन कागजी सम्झौता हुँदै थियो, त्यही दिन मिडियामा पलले ‘अनुराग’ गर्न लागेको खबर चुहियो । यसपछि उनी निर्माण टिमसँग रुष्ट भए र फिल्म नगर्ने जानकारी गराए ।
 
‘अनुराग’ मा टिमअप हुन नसकेको पल र एलिजाको एक म्यूजिक भिडियोमा जोडी बाँधिएको छ । केही दिनअगाडि छायांकन भएको गीत चाँडै सार्वजनिक हुँदैछ । पलसँग काम गर्दा आफूले धेरै सिक्न पाएको एलिजाको भनाई छ । पलले पनि एलिजासँग काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । भिडियोमा बाँधिएको यी दुईको जोडीलाई फिल्ममा चाहिँ कहिले हेर्न पाइने हो कुन्नी ? 
Most Visited News (monthly)