Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतीय सिरियल ‘तेनाली रामा’ मा नेपाली अभिनेत्री निरिशा

फिल्मीखबर, काठमाण्डौ, 2020/08/11
पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन्, निरिशा बस्नेत । उनले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनी भारतको मुम्बईमा छिन् । हालै कोरोना संक्रमणबाट निको भएकी उनले भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी छन् ।
 
डेब्यू नेपाली फिल्म असफल भएपछि निराश भएर मुम्बई फर्किएकी उनले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गर्दैछन् । हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’ मा उनले केमियो भूमिकामा अभिनय गरेकी छन् । उनले आफ्नो भागको छायांकन पूरा गरिसकेकी छन् । ‘सब टिभी’ बाट ब्रोडकास्ट हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको छ । 
 
 
सिरियलमा आफ्नो भूमिकाबारे उनले भनिन्, ‘मेरो केमियो हो तर भूमिका कमजोर छैन । सिरियलमा मेरो कारणले नयाँ ट्विस्ट आउँछ । मेरो प्रवेशपछि कथा मोडिन्छ । मैले तीन महिना ‘चन्द्र नन्दिनी’ र दुई हप्ता ‘तेनाली रामा’ गरेँ । तर, त्यो तीन महिनाभन्दा यो दुई हप्ताको यात्रा तुलनात्मक हिसाबले बलियो छ ।’ उनले सिरियलमा निर्वाह गरेको चरित्रको बारेमा भने जानकारी दिइनन् । 
 
‘जानी नजानी’ गर्नका लागि निरिशा भारतबाट नेपाल आएकी थिइन् । यो फिल्मको छायांकन र प्रचारका लागि एक वर्ष समय दिँदा उनको हातबाट धेरै भारतीय प्रोजेक्टहरु फुत्केको थियो । फिल्म प्रदर्शन लगत्तै उनी भारत फर्किइन् । तर, एक वर्ष नेपाल बसेका कारण उनलाई पुनः मुम्बईमा सेटल हुन केही समय लाग्यो । अहिले आफूले काम र दाम दुवै राम्रो पाइरहेको उनी बताउँछिन् । 
 
गत वर्ष दुईवटा सिरियलको छायांकन सकाएकी उनले एक साउथ फिल्म समेत साइन गरेकी छन् । ‘लकडाउन हुनुभन्दा अगाडि म साउथ फिल्मको छायांकनका लागि चेन्नई गएको थिएँ । छायांकनको पहिलो दिनबाटै भारतमा लकडाउन भयो । त्यसपछि मुम्बई फर्किएर सिरियल गरेको हुँ । अब लकडाउन खुलेपछि साउथ फिल्मको बाँकी छायांकन गर्नेछु,’ निरिशाले भनिन् ।
 
उनलाई बलिउड फिल्ममा पनि काम गर्ने इच्छा छ । तर, बलिउडमा आफ्नो लुक्सलाई सुहाउने खालको चरित्र नलेखिने उनको भनाई छ । वेब सिरिजका लागि प्रयास गर्ने सोचमा रहेकी उनी राम्रो ब्यानरबाट अफर भए नेपाली फिल्म पनि गर्ने बताउँछिन् । निरिशा भन्छिन्, ‘मेरो पहिलो फिल्मले दर्शकको साथ पाउन सकेन । अब नेपाली फिल्म गर्दा राम्रो ब्यानर र स्क्रिप्ट हेर्छु ।’
Most Visited News (monthly)