
कोरोनाका कारण फिल्म क्षेत्र अस्तव्यस्त भएको छ । फिल्म निर्माण र प्रदर्शन नहुँदा कलाकारदेखि प्राविधिकसम्म घरमै सीमित भएका छन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै निश्चित छैन । किनकि, सरकारले तत्काल फिल्म क्षेत्र खोल्न गम्भीर देखिएको छैन । पाँच महिनायता फिल्म सम्बन्धि कुनै कार्य नभए पनि श्रृंखलाबद्ध विवादले फिल्म क्षेत्रलाई सुनसान भने हुन दिएको छैन ।
यसअघि फिल्म क्षेत्रमा विभिन्न विषयलाई लिएर विवाद र बहस नभएका होइनन् । तर, त्यसले फिल्म क्षेत्रको चौघेरा नाघेको थिएन । यसपटक फिल्म क्षेत्रमा भएका विवादको विषयमा गाउँदेखि शहरसम्मका चिया पसलमा बहस चलेको छ । फिल्मकर्मीहरु एकअर्काप्रति आरोप-प्रत्यारोपमा उत्रिँदा फिल्म क्षेत्रको छवि धमिलिएको छ । फिल्मकर्मीप्रति हेर्ने नजर पनि परिवर्तन भएको छ ।
फिल्म क्षेत्रमा भइरहेका विवाद र आरोप-प्रत्यारोपको बारेमा दर्शकहरुले कलाकारलाई प्रश्न गर्न थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटीलाई सोमवार फेसबुकमा एक फ्यानले सोधे- ‘केही दिनयता फिल्म क्षेत्र सम्बन्धि धेरै विवाद र आरोप प्रत्यारोपहरु आइरहेका छन्, यसमा तपाईंको धारणा के छ ?’ यसको जवाफमा वर्षाले कलाकार सम्यमित हुन जरुरी रहेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘केही समयको लोकप्रियताका लागि मरिमेट्नु गलत हो । पब्लिक प्लेटफर्ममा आफ्नो विचार राख्दा सोच पुर्याउनु पर्छ । र, महत्त्वपूर्ण कुरा, डिसिप्लिन मेन्टेन गर्न जरुरी छ ।’ उनको यो भनाईले लोकप्रियताका लागि विवाद उब्जाउनु र आरोप-प्रत्यारोपमा उत्रनु गलत रहेको तर्क पेश गर्छ । तर, उनको यो टिप्पणी कोप्रति लक्षित हो ? बुझ्न चाहिँ सकिएन !

