Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकाको प्रश्न- के महिला कलाकार सम्मानका लायक छैनन् ?

फिल्मीखबर, काठमाण्डौ, 2020/08/11
कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि नेपाली फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । फिल्म निर्माण, प्रदर्शन र वितरण सम्बन्धि सबै कार्य रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । यतिबेला पहिलाको अवस्थामा फिल्म क्षेत्रलाई फर्काउन कस्ता रणनीति अपनाउनु पर्छ भन्ने विषयमा फिल्मकर्मीबीच बहस हुनुपर्ने हो । तर, यसतर्फ समय खर्चिन कोही तयार छैनन् ।
 
लकडाउनको समयमा सबैभन्दा विवादित बनेको क्षेत्र हो, फिल्म क्षेत्र । पाँच महिनायता हरेक हप्ता कुनै न कुनै विवादमा फिल्म क्षेत्र अल्झिएको छ । सुष्मा कार्की, वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मालगायत मिडियामा ढंग पुर्‍याएर बोल्न नजान्दा विवादित र आलोचित बने । साम्राज्ञी आरएल शाहले भुवन केसीमाथि लगाएको दुव्र्यवहारको आरोपले पनि फिल्म क्षेत्र तातिरहेको छ ।
 
 
केही दिनयता अभिनेत्री पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीको विवाद उत्कर्षमा छ । पत्रकार सुवेदीले एपी वानको ‘रजतपट’ कार्यक्रममा ‘दारे’ शब्द उच्चारण गरेपछि अभिनेत्री शर्माले आपत्ति जनाइन् । उनले उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै नेपाली फिल्म सम्बन्धित विभिन्न संघ-संस्थामा उजुरी दिएकी छन् । यो विवाद साम्य नहुँदै फिल्म क्षेत्रमा फेरि अर्को विवाद चर्केको छ । 
 
एक सञ्चारमाध्यमले विवाह अगाडि विग्रिएकी अभिनेत्री प्रियंका कार्की विवाहपछि संस्कारी भएको भनेर प्रकाशन गरेको समाचारप्रति महिला कलाकारहरुले विरोध जनाएका छन् । उक्त समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रियंकाले फेसबुकमा लामो स्टाटस लेख्दै महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार भएको देख्दा चिन्ता लाग्ने गरेको बताएकी छन् । 
 
केही महिला कलाकारलाई स्टाटस ट्याग गर्दै उनले लेखेकी छन्, ‘के तपाईँका छोरी चेली संस्कारी छन्/छैनन् ? बिहे गरिदिनुस् । शरीर ढाकिदिनुस् । चुलो-चौको गरेर शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन् । सपना नदेखाउनुस् । करियर र एम्बिसन जस्ता कुरामा नअल्झाउनुस् । चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ । बिहे नटिके समाजले कुसंस्कारी भन्छ ।’
 
साँघुरो मानसिकता भएका मानिसबाट आफूलाई डर लाग्ने गरेको र यस्ता व्यक्तिहरु समाजलाई ‘इन्फूलेन्स’ गर्न सक्ने ठाउँमा रहेको उनको तर्क छ । उनले अगाडि लेखेकी छन्, ‘कहिले आफ्नो द्वेश पूरा गर्न त कहिले इर्श्या, केही पत्रकारदेखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ । कहिले बिक्ने समाचार बनेर त कहिले हिजो आएकाले हेप्ने भन्दै, हामी समाजलाई महिला कलाकारहरुतर्फ झनै नकारात्मक बनाउँदैछौँ ।’
 

 

उनले हामीमा सामाजिक उत्तरदायित्व सकिएकै हो त भनेर पनि प्रश्न गरेकी छन् । ‘आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ। के महिला कलाकार सम्मानका लायक छैनन् ?,’ उनी प्रश्न गर्दै अगाडि लेख्छिन्, ‘के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सीमित छौँ ?’ प्रियंकाको यो स्टाटस रीमा विश्वकर्मा, केकी अधिकारी, स्वस्तिमा खड्का, वर्षा राउतलगायतले पनि शेयर गरेका छन् ।
Most Visited News (monthly)