
अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा बहस भइरहेको छ । यो विषयमा चलेको बहसले ठूलो असर स्टार किड्सलाई परेको छ । सामाजिक सञ्जालमा उनीहरुको ट्रोल मात्र भइरहेको छैन, फिल्म बाइकट गर्नेसम्म माग उठिरहेको छ । यसबीच, फिल्म ‘बधाई हो’ फेम्ड कलाकार गजराज रावले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले एक अन्तर्वार्तामा बलिउडमा नेपोटिज्म रहेको स्वीकार गरेका छन् । तर, उनी यो प्रथा हरेक क्षेत्रमा रहेको बताउँछन् । उनी भन्छन्, ‘यो इन्डस्ट्रीमा कति यस्ता ठूला स्टार छन्, जो आउटसाइडर हुन् । यही कति स्टार किड्स पनि छन्, जसले राम्रो गर्न सकेका छैनन् । यही कोही यस्ता पनि छन्, जसले पिताभन्दा बढी नाम कमाएका छन् । ऋतिक र टाइगर यसका उदाहरण हुन् ।’
ठूलो परिवारमा जन्म लिनु सजाय नभएको उनी बताउँछन् । बलिउडमा नाम कमाउनका लागि प्रतिभा आवश्यक हुने उनको भनाई छ । ‘म ती स्टार किड्सप्रति साहनुभूति राख्दछु । उनीहरुमाथि आफूलाई सावित गर्नका लागि निकै प्रेसर हुन्छ,’ उनले भनेका छन् । गजराजको यो बयान अहिले सोसल मिडियामा ट्रेन्ड गरिरहेको छ । प्रायःले उनको भनाईमा सहमति जनाएका छन् ।

