
कोरोना भाइरसका कारण पाँच महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । लकडाउन अन्त्य भएपछि अन्य क्षेत्र खुले । तर, सरकारले फिल्म निर्माण, प्रदर्शन र वितरणमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिल्मकर्मीहरु निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्नु पर्ने बताइरहेका छन् । तर, दशैंअघि यो क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ ।
सरकार फिल्म क्षेत्र खोल्ने विषयमा गम्भीर नहुँदा दर्जन बढी फिल्मको निर्माण रोकिएको छ । निर्देशक हेमराज विसी आउँदो कात्तिकबाट नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारीमा थिए । तर, अब अर्को वर्षका लागि फिल्मको छायांकन सारिएको छ । बेनामे फिल्ममा हेमराजले गत वर्ष नै अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कागजी सम्झौता गरेका थिए ।
छायांकनमा जान ढिलाइ भएपछि प्रदीप र साम्राज्ञीले यो फिल्मबाट हात झिकेको गाईंगुईं सुनिएको छ । ‘प्रेमगीत ३’ प्रदर्शनपछि प्रदीप निर्देशक दिनेश राउतको फिल्म गर्ने तरखरमा रहनु र साम्राज्ञीले हालै एक फिल्म साइन गर्नुले पनि यो चर्चालाई थप मलजल मिलेको छ । तर, यसमा कुनै सत्यता नभएको हेमराज बताउँछन् । फिल्ममा प्रदीप र साम्राज्ञी यथावत रहेको उनको भनाई छ ।
उनले फिल्मीखबरसँग भने- ‘कात्तिकबाट छायांकनमा जाने तयारी थियौं । तर, कोरोनाका कारण अर्को वर्षका लागि धकेलिएको छ । स्क्रिप्ट लगभग फाइनल भइसकेको छ । प्रदीप र साम्राज्ञी दुवैले पहिला यही फिल्म गर्नुहुनेछ ।’ उनी कोरोनाका कारण फिल्मका लागि छायांकन स्थल समेत तोक्न नसकेको बताउँछन् । प्रदीप र साम्राज्ञीसँग हेमराजले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।

