(3).jpg)
अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा गराएको परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । केही हप्ताअघि यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उपासनाले दुई दिन अगाडि पीसीआर नमूना परीक्षण गराएकी थिइन् ।
कोरोना परीक्षणका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म उपासना निकै डराएकी थिइन् । तर, शनिवार साँझ अस्पतालले कोरोना नेगेटिभ रहेको रिपोर्ट दिएपछि उनी खुसी भएकी छन् । उक्त विज्ञापनका लागि फोटोसुट गराएका अभिनेता अनमोल केसीले पनि दुई दिनअघि कोरोना परीक्षण गराएका छन् । उनको रिपोर्ट भने शनिवार साँझसम्म आउन सक्ने जानकारी प्राप्त छ ।

उपासनाले फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनको अपोजिटमा अनमोल केसी थिए । यसपछि उनले दयाहाङ राईसँग ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गरिन् । दुवै फिल्ममा उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनको नेपाली फिल्ममा राम्रो माग छ । तर, उनले अध्ययनका कारण ‘कबड्डी’ पछि नयाँ फिल्म साइन गरेकी छैनन् ।

