
चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको छ । केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि यमाहाको टिमले उनीहरुको कोरोना परिक्षण गराएको हो । दुवैको कोरोना परिक्षणको रिपोर्ट भने आएको छैन । न त उनीहरुमा कुनै प्रकारको लक्षण नै देखिएको छ ।
अनमोलले यमाहाको टिमबाट जानकारी प्राप्त भएपछि आफूले २ दिन अगाडि कोरोना परिक्षण गराएको बताएका छन् । भोलीसम्म रिपोर्ट हातमा पर्नसक्ने उनको भनाई छ । उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । उनले परिवारका सदस्यहरुसँग पनि आफूले दूरी बनाएको बताएका छन् । लकडाउनपछि अनमोल विभिन्न कम्पनीको विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् ।
सरकारले कोरोनाको संक्रमण फैलिन नदिन लकडाउनको घोषणा गरेपछि अनमोलको घरभित्रै दिनचर्या वितिरहेको छ । हप्तामा एक-दुईपटक कृष्ण मन्दिर पुग्ने गरेका उनी स्थिति सामान्य भएपछि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त हुनेछन् । लकडाउन भएपछि यो फिल्मको छायांकन अधुरैमा रोकिएको थियो । योे फिल्मपछि उनी ‘पारस’ को छायांकनमा व्यस्त हुनेछन् ।
त्यस्तै, फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासनाले दोस्रो फिल्मको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गरेकी थिइन् । दुवै फिल्ममा उनको अभिनयको प्रशंसा भएको थियो । तर, अध्ययनका कारण उनी भदौसम्म कुनै फिल्ममा आबद्ध नहुने सोचमा छिन् । उनको कोरोना रिपोर्ट शुक्रवार साँझसम्म आउने बताइएको छ । अहिले उनी घरमै आइसोलेसनमा बसेकी छन् ।

