
नेपाली फिल्मका चकलेटी अभिनेता सुमन सिंहकी आमाले संसारबाट विदा लिएको एक वर्ष भएको छ । ६९ वर्षिय सिंहकी आमा विन्दुको पक्षघातका कारण ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । आमाको निधनपछि विक्षिप्त भएका अभिनेता सिंहले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दिवंगत आमालाई सम्झिएका छन् ।
उनले गएको एक वर्षमा आमालाई नसम्झिएको कुनै दिन नभएको बताएका छन् । उनले लेखेका छन्, ‘हामीले सँगै बिताएको समयका ती सबै सुन्दर सम्झनाले मलाई मुस्कुराउने गर्दछ । केवल त्यसबेलासम्म जब मलाई याद आउँछ कि अब तपाईं हामीसँग हुनुहुन्न भन्ने । मेरो दिलले अझै पनि स्वीकार गर्न सकेको छैन कि तपाईं हामीसँग हुनुहुन्न भनेर । तपाईं मेरो शक्ति हुनुहुन्थ्यो ।’
अभिनेता सिंह एक समय नेपाली फिल्मका डिमान्डेड अभिनेतामध्ये एक हुन् । तर, लामो समयदेखि उनी अभिनयमा सक्रिय छैनन् । उनको पछिल्लो रिलिज फिल्म हो, ‘यो कथा हो तिम्रो मेरो ।’ ‘नाईं नभन्नू ल’, ‘सम्झि राख है’, ‘तोड’, ‘पहिलो पहिलो माया हो मेरो’, ‘दुई किनारा’, ‘तिम्रो लागि’ लगायतका फिल्ममा उनले अभिनय गरेका छन् । उनी पछिल्लो समय नेपालमा बस्ने गर्दैनन् ।

