
कोरोना भाइरस (कोभिड १९) को चपेटामा परेको फिल्म हो, ‘बिच्छेद’ । गत वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकन लकडाउन भएपछि रोकियो । अब तिहारपछि बाँकी छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । ‘अनुराग’ फेम्ड निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी वर्देवाको जोडी बाँधिएको छ ।
यो फिल्मका लागि पहिला अभिनेत्रीको रुपमा निर्माण टिमले केकी अधिकारीसँग सम्झौता गरेको थियो । तर, ‘परदेशी २’ सँग छायांकन जुध्न भएपछि उनले ‘बिच्छेद’ छाड्ने निर्णय लिएकी थिइन् । उनी बाहिरिएपछि निर्माण टिमले लक्ष्मीलाई लिड अभिनेत्रीमा अनुबन्ध गरेको थियो । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा काम गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।
राज पण्डित र सुबास राई निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायतका कलाकारहरुको अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित भएर निर्माण हुने निर्देशक चौलागाईंले जानकारी दिए । फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।
फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन हुनेछ । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् । ‘बिच्छेद’ प्रदर्शन भएपछि यही टिमले ‘अन्तरे’ नामक फिल्म पनि निर्माण गर्दैछ । यसमा लिड अभिनेताका लागि मुकुन भुषालसँग सम्झौता भइसकेको छ । अभिनेत्रीको भने टुंगो नलागेको निर्देशक सत्यराजले बताए ।

