.jpg)
नेपाली फिल्मकर्मी र दर्शकमाझ उतिधेरै परिचित नाम होइन, कबीर खड्का । अभिनेताको रुपमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका उनले फिल्म ‘लम्फू’ बाट अभिनय करिअरको थालनी गरेका थिए । तर, यो फिल्मले व्यवसायिक सफलता हात पार्न नसक्दा उनी गिनेचुनेका ब्यानरको नजरमा पर्न सकेनन् । यसमा उनको अभिनय भने केही हदसम्म रुचाइएको थियो ।
यो फिल्मपछि उनले ‘तिमी र म’ नामक फिल्म साइन गरेका थिए । तर, यो फिल्म घोषणामै सीमित भयो । लकडाउनभन्दा अगाडि फिल्म ‘गुञ्जन’ को छायांकन भ्याएका कबीर यसमा आफू एन्टागोनिस्ट रहेको बताउँछन् । ‘ऊ आफ्नो नजरमा हिरो हो । तर, अरुको नजरमा भिलेन देखिन्छ । ‘गुञ्जन’ मा त्यस्तो भूमिका छ । मेरो भूमिका दर्शकलाई मनपर्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।
एउटा कलाकारको करिअरले उचाइ लिन फिल्मको सफलता महत्त्वपूर्ण हुने उनको बुझाई छ । ‘लम्फू’ ले आफूलाई फिल्मकर्मी र दर्शकमाझ चिनाउन असफल भएको उनी स्वीकार गर्छन् । तर, आफ्नो लागि ‘लम्फू’ ले एउटा बाटो कोरेको उनको भनाई छ । उनी भन्छन्, ‘यो फिल्मले मलाई एउटा बाटो देखायो । बाँकी बाटो अब म आफैंले कोर्नु पर्नेछ । ‘लम्फू’ गरेकोमा पश्चताप छैन ।’
लभस्टोरी फिल्म गर्न मनपर्ने बताउने कबीर निर्देशक सुदर्शन थापासँग काम गर्न इच्छा रहेको बताउँछन् । ‘सुदर्शन सरको फिल्म एकदमै राम्रो लाग्छ । उहाँसँग काम गर्न मन छ,’ उनले थपे- ‘अभिनेतामा अनमोल केसीबाट प्रभावित छु । उहाँको बोल्ने र काम गर्ने शैली मनपर्छ ।’ चकलेटी लुक्सका यी हिरोले आफ्नो अभिनयलाई निखारता दिन मेहेनत गरिरहेको पनि बताएका छन् ।

