Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

३६ वर्षका भए हरिश उर्फ आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2020/08/05
नेपाली फिल्मका चकलेटी हिरो अभिनेता आर्यन सिग्देल बुधवारबाट ३६ वर्षका भएका छन् । २०४१ साल साउन २१ गते जन्मिएका उनको नागरिकतामा भने जन्म मिति साउन ५ छ । उनको न्वारनको नाम हरिश सिग्देल हो । फिल्ममा प्रवेश गरेपछि उनले नाम परिवर्तन गरेका थिए । एक फिल्मका लागि लोकेशन हेर्न पोखरामा रहेका उनी त्यही आफ्नो जन्मदिन सेलिब्रेट गर्दैछन् । 
 
 
आर्यनले फिल्म ‘किस्मत’ बाट अभिनय करिअर सुरु गरेका थिए । यो फिल्मले उनको किस्मत बदलेको थियो । यसपछि उनले झण्डै एक दशक आफ्नो करिअर पछाडि फर्केर हेर्नुपरेन । लभस्टोरी फिल्ममा उनी निर्विकल्प अभिनेता झैँ थिए । फिल्म ‘मेरो एउटा साथी छ’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेका उनले हरर र एक्सन जनराका फिल्ममा पनि काम गरेका छन् । 
 
‘कसले चोर्‍यो मेरो मन’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘के यो माया हो’, ‘कोही मेरो’, ‘नाईं नभन्नू ल ३’ लगायत उनी अभिनीत सम्झनलायक फिल्म हुन् । एक समय बक्सअफिसका हिट मेशिन भनिने आर्यनको केही वर्षयता फिल्म करिअर सुखद छैन । उनी अभिनीत एकपछि अर्को फिल्मले बक्सअफिसमा घुँडा टेकेका छन् । जसले गर्दा उनको स्टारडममाथि प्रश्न उठ्न थालेको छ । 
 
गत वर्ष उनी अभिनीत दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘च च हुईं’ प्रदर्शनमा आएका थिए । तर, यी दुवै फिल्मले घाटाको व्यापार गरे । उनले आफ्नै लगानीमा फिल्म ‘कायरा’ पनि बनाए । उनको कमजोर बनेको स्टारडम यो फिल्मले पनि उकास्न सकेन । कोरोनाको महामारी अन्त्य भएपछि उनी ‘सेल्फी किङ’ निर्देशक विशाल भण्डारीसँग एक फिल्ममा काम गर्ने तयारीमा छन् । 
 
३२ वर्षको उमेरमा आफूभन्दा ६ वर्ष कान्छी सपना भण्डारीसँग विवाह गरेका आर्यन एक छोराको पिता समेत भइसकेका छन् । उनलाई जन्मदिनको अवसरमा शुभचिन्तक तथा फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट शुभकामना दिइरहेका छन् । अभिनेत्री रेखा थापादेखि अभिनेता जीवन लुईटेलसम्मले उनलाई जन्मदिनको शुभकामना दिँदै फेसबुकमा स्टाटस कोरेका छन् । 
 
नेपाली फिल्मका चकलेटी अभिनेता आर्यन सिग्देललाई जन्मदिनको अनगिन्ती शुभकामना । 
Most Visited News (monthly)