छविराज प्रोडक्सनकी लक्की चार्म हुन्, शिल्पा पोखरेल । अभिनेत्री रेखा थापापछि यो प्रोडक्सन हाउसले निर्माण गर्ने फिल्ममा उनले स्थान पाउन थालेकी थिइन् । ‘लज्जा’ बाट निर्माता छविराज ओझाले उनलाई अभिनेत्रीको रुपमा ब्रेक दिएका थिए । यसपछि ‘हवल्दार सुन्तली’, ‘किस्मत २’ र ‘मंगलम’ मा उनीहरुबीच व्यवसायिक सहकार्यसँगै बैबाहिक सम्बन्धको गाँठो पनि कसियो ।
तर, अब छविराज प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा शिल्पा देखिने छैनन् । किनकि, उनले छविराजसँग बैबाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेकी छन् । अहिले उनीहरु छुट्टा-छुट्टै बस्दै आएका छन् । गत वर्ष अदालतको चक्कर लगाएर गलेकी शिल्पा विगत ५ महिनायता घरभित्रै छिन् । लकडाउनपछि उनी आफ्नो शरीरलाई फिट बनाउन व्यायाम गरिरहेकी छन् ।
.jpg)
‘भिलेन’ पछि शिल्पा अभिनीत कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । लकडाउनभन्दा केही समयअघि फिल्म ‘आर्या’ को छायांकन भ्याएकी उनले दुई भोजपुरी फिल्ममा समेत अभिनय गरिसकेकी छन् । कोरोनाको महामारी अन्त्य भएपछि उनले थप एक भोजपुरी फिल्ममा काम गर्दैछिन् । हाल एक टिमसँग नेपाली फिल्मका लागि पनि कुराकानी भइरहेको शिल्पाले बताएकी छन् ।
उनले छविराज प्रोडक्सनभन्दा बाहिरका जति पनि फिल्ममा काम गरेकी छन्, कुनै सफल छैनन् । न त समीक्षात्मक रुपमा नै रुचाइए । यसको कारण उनी फिल्म छनौटमा चुजी नहुनुलाई मानिएको छ । तर, शिल्पा यो कुरा स्वीकार गर्ने पक्षमा छैनन् । कथा मन परेर नै फिल्म गर्ने गरेको उनको भनाई छ । स्क्रिप्टलाई कसरी पर्दामा उतार्ने भन्ने निर्देशकमा भर पर्ने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘निर्देशकले कथा सुनाउँदा एकदमै राम्रोसँग सुनाउनुभएको हुन्छ । कथा मन परेपछि फिल्ममा काम गर्छु । तर, फिल्म सुरु भएपछि धेरै कुरामा कम्प्रमाइज हुँदो रहेछ । धेरै खर्च हुन्छ भनेर ८/९ वटा सिन एकै दिनमा खिचिन्छ । राम्रो नभए पनि ‘ओके’ भनेर राखिन्छ । लोकेशनमा पनि कम्प्रमाइज गरिन्छ । यो कारणले पनि फिल्म राम्रो बन्न नसकेको हुनसक्छ ।’

