
‘जीरो’ फेम्ड निर्देशक आनन्द एल राय र अभिनेता अक्षय कुमारबीच दोस्रो पटक टिमअप भएको छ । ‘अतरंगी रे’ पछि अब उनीहरु फिल्म ‘रक्षाबन्धन’ लिएर आउँदैछन् । जनैपूर्णिमा (रक्षाबन्धन) को अवसर पारेर यो फिल्मको निर्माण घोषणा गरिएको छ । ‘अतरंगी रे’ कै लेखक हिमान्शु शर्माले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । फिल्म अर्को वर्षको ५ नोभेम्बरमा रिलिज हुनेछ ।
फिल्मको विषयमा जानकारी दिँदै आनन्दले भनेका छन्, ‘रक्षाबन्धन’ हामीबीच एक अर्को एसोसिएशन हो । कहानी निकै विशेष छ । यो सम्बन्धको सेलिब्रेसन हो ।’ त्यस्तै, अभिनेता अक्षय कुमार भन्छन्, ‘त्यो व्यक्ति कति धन्य छ, जोसँग दिदी-बहिनी छन् । मलाई यो कुराको सबैभन्दा बढी खुसी छ कि मेरी बहिनी अलका, निर्देशक आनन्द एल रायसँग मिलेर फिल्म निर्माण गर्दैछिन् ।’
उनले फिल्मको कहानीले दर्शकलाई हँसाउने र रुवाउने बताएका छन् । यो फिल्ममा अक्षयका चार बहिनी हुनेछन् । अक्षय कुमार र आनन्द एल रायबीच लकडाउनको समयमा फिल्म गर्ने सहमति भएको थियो । उनीहरुबीच अन्य तीन फिल्मका लागि पनि डिल भएको भारतीय मिडियाले बताएका छन् । ‘बेलबटम’ को छायांकन पूरा गरेपछि अक्षय ‘रक्षाबन्धन’ मा व्यस्त हुने तालिका छ ।

