
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘च च हुईं’ पछि फुर्सदिला रहेका अभिनेता आर्यन सिग्देल र ‘सेल्फी किङ’ बाट निर्देशकिय यात्रा थालेका विशाल सापकोटाबीच नयाँ प्रोजेक्टमा टिमअप भएको छ । ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा सँगै काम गर्न लागेको चर्चा चलिरहँदा उनीहरुले नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्मको स्क्रिप्ट निर्देशक सापकोटा स्वयंले लेखिरहेका छन् ।
केही दिनयता आर्यन र विशाल पोखरामा छन् । निर्देशक सापकोटाले फिल्मीखबरसँग फोनवार्तामा भने- ‘मैले आर्यनसँगको फोटो सामाजिक सञ्जालमा राखेपछि ‘अर्जुन रेड्डी’ को तयारीका लागि हो भनेर धेरैले सोध्नुभएको छ । तर, यो फिल्मका लागि हामी पोखरा आएका होइनौं । एक नयाँ प्रोजेक्टमा हामीबीच टिमअप भएको छ । त्यही फिल्मका लागि लोकशन हेर्न पोखरामा छौं ।’
कोरोनाको महामारीपछि सानो बजेटमा फिल्म निर्माण गर्ने उनले बताए । उनले थपे- ‘अहिले ठूलो लगानीमा फिल्म बनाउने वातावरण छैन । सानो लगानीमा राम्रो फिल्म बनाउने सोचमा हामी छौं । स्थिति सामान्य भएपछि सानो टिम लिएर फ्लोरमा जानेछौं ।’ फिल्मका लागि अहिलेसम्म आर्यन मात्र फाइनल भएको उनको भनाई छ । बाँकी कलाकार चाँडै छनौट गर्ने उनले बताए ।
निर्देशक सापकोटाले आर्यनसँगको प्रोजेक्टपछि ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको काम सुरु गर्ने बताएका छन् । उनी भन्छन्, ‘यो ठूलो स्केलमा बन्ने फिल्म भएकाले तत्काल बनाउन सम्भव छैन । निर्माताहरु अमेरिकामा बस्ने भएकाले अलि पछि यो फिल्मको काम सुरु हुनेछ ।’ तपाईंहरुलाई स्मरण रहोस् कि विशाल र आर्यनले फिल्म ‘आइ मिस यू’ मा स्क्रिन साझेदारी गरेका थिए ।

