Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोहितले शेयर नपाउँदा किन मौन दीपकराज ?

फिल्मीखबर, काठमाडौं, 2020/08/02
कोरोना भाइरसको महामारीका कारण गएको पाँच महिनायता फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । यो अवस्था अझै कहिलेसम्म लम्बिने हो, कुनै निश्चित छैन । सरकार अन्य क्षेत्र सञ्चालन गर्ने विषयमा उदार देखिए पनि फिल्म क्षेत्र खोल्न गम्भीर देखिएको छैन । न त फिल्मकर्मीहरुले नै सरकारलाई फिल्म क्षेत्र खोल्नका लागि प्रभावकारी दबाब दिन सकेका छन् । 
 
यतिबेला फिल्म क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन कस्ता रणनीति अपनाउनु पर्छ भन्ने विषयमा फिल्मकर्मीहरुबीच छलफल हुनुपर्ने हो । तर, उनीहरुलाई एकअर्काको खुट्टा तान्दैमा फुर्सद छैन । कोरोनाका कारण चार महिना लामो लकडाउनमा सबैभन्दा विवादित बनेको फिल्म क्षेत्र केही दिनयता फिल्म ‘छ माया छपक्कै’ का निर्माता र वितरकबीचको आपसी द्वन्द्वमा रुमलिएको छ । 
 
 
यो फिल्मका निर्माता रोहित अधिकारीले देशभरबाट अझै आफूले २ करोड शेयर पाउन बाँकी रहेको र वितरकसँग बारम्बार ताकेता गर्दा पनि रकम नपाएको भनेर फेसबुकमा आक्रोश पोखिरहेका छन् । काठमाडौं बाहिर फिल्म वितरणको जिम्मा लिएको एफडी कम्पनीबाट मात्र डेढ करोड लिन बाँकी रहेको तर १० महिना वितिसक्दा पनि रकम नपाएको उनको गुनासो छ ।
 
एफडी कम्पनीका अध्यक्ष शुशील पोखरेलले भने कोरोनाका कारण परिस्थिति प्रतिकुल भएकाले निर्मातालाई रकम दिन सकेको बताएका छन् । तर, निर्माता अधिकारी फिल्म प्रदर्शन भएको १० महिनासम्म शेयर नपाउनु वितरककै बदमासी रहेको आरोप लगाउँछन् । निर्माता र वितरकबीच परेको यो वारमा ‘छ माया छपक्कै’ का मुनाफाका हिस्सेदार दीपकराज गिरी भने मौन छन् । 
 
उनको समुहले निर्माता अधिकारीसँग ६० प्रतिशत मुनाफा लिने सर्तमा यो फिल्ममा काम गरेको थियो । फिल्मले बक्सअफिसमा १४ करोडभन्दा बढी कमाई गरेको बताइन्छ । दीपकराज यो फिल्मका कलाकार र मुनाफाका हिस्सेदार मात्र होइनन्, एफडी कम्पनीका शेयर होल्डर समेत हुन् । यो कम्पनीले वितरण गरेका फिल्मबाट हुने मुनाफाको हिस्सा उनको पोल्टामा पनि पर्छ । 
 
तर, निर्माता रोहितले १० महिनासम्म ‘छ माया छपक्कै’ को शेयर नपाएको भनेर सामाजिक सञ्जालमा गुनासो पोखिरहँदा दीपकराजको मौनताले धेरै प्रश्न उब्जाएका छन् । फिल्मको सदस्य र एफडीको शेयर होल्डर भएको नाताले उनी निर्माताको समस्या समाधान गर्न किन अगाडि सरेका छैनन् ? आफ्नो टिमले पाउनु पर्ने मुनाफाको हिस्सा लिएर मौन बसेका त होइनन् ? 
 
एफडी कम्पनीमा आफ्नो स्वामित्त्व रहेका कारण दीपकराजले ‘छ माया छपक्कै’ बाट पाउनु पर्ने मुनाफाको हिस्सा बुझिसकेर निर्माता रोहितलाई झुलाएर राखेको हुनसक्ने फिल्मकर्मीहरुको टिप्पणी छ । निर्माता अधिकारीले १० महिनासम्म फिल्मको शेयर नपाएको भनेर गुनासो गरिरहँदा दीपकराज समुहका सदस्यहरु यस विषयमा ‘तै चुप मै चुप’ हुनु आफैँमा आश्चर्यको कुरा हो । 
 
गोपालकाजी र रोहितबीच भनाभन
 
‘छ माया छपक्कै’ को शेयरको विषयमा निर्माता रोहित अधिकारी र वितरक गोपालकाजी कायस्थबीच सामाजिक सञ्जालमा भनाभन भएको छ । निर्माता अधिकारीले पुष्पाञ्जली हलबाट पैसा लिन बाँकी रहेको बताएपछि वितरक कायस्थले उनलाई पागलको संज्ञा दिएका छन् । उनले फेसबुकमा निर्माता अधिकारी धेरै पैसा कमाएर पागर भएको हो ? भनेर स्टाटस लेखेका छन् । 
 
 
निर्माता अधिकारीको फेसबुकको स्क्रिन सट राख्दै पुष्पाञ्जली हलका सञ्चालक समेत रहेका कायस्थले लेखेका छन्, ‘यो निर्माता पैसा कमाएर मात्तिएको होकि पागल भएको हो ? ‘छ माया छपक्कै’ को पैसा सबै चुक्ता भइसक्यो । पुष्पाञ्जलीमा पैसा लिनुछ भनेर समाचार बनाउँछ । अब यो निर्मातालाई के गर्ने ?’ आफूलाई पागलको संज्ञा दिएपछि रोहितले पनि जवाफ फर्काएका छन् ।
 
उनले उक्त हलबाट ७० हजार लिन बाँकी रहेको उल्लेख गर्दै कायस्थको पोस्टमा कमेन्ट गरेका छन्, ‘७० हजार लिन बाँकी छ । तपाईं पागल हो ?’ निर्माता र वितरकबीच सामाजिक सञ्जालमा एकअर्कालाई पागलको संज्ञा दिन चलेको यो हानाथापले फिल्मकर्मी र फिल्म क्षेत्रलाई हेर्ने धारणा आम मानिसको कस्तो बन्ला ? हुनत, फिल्मकर्मीबाट योभन्दा बढी अपेक्षा राख्न पनि सकिन्न । 
Most Visited News (monthly)