कोरोनाका कारण गएको पाँच महिनायता सिनेमा हलमा ताल्चा लागेको छ । फिल्म निर्माण र प्रदर्शन पूर्ण रुपमा रोकिएको छ । लकडाउन अन्त्य भएपछि विभिन्न क्षेत्र खोल्न सरकारले अनुमति दिए पनि फिल्म क्षेत्रमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ । अन्य क्षेत्र खुल्ला गरेर यो क्षेत्रमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको अहिले फिल्मकर्मीहरुले विरोध गरिरहेका छन् ।

सरकारले फिल्म निर्माणका लागि अनुमति दिन ढिलाइ गरिरहेको अवस्थामा निर्माताहरु भने आउँदो भदौबाट फिल्मको छायांकन सुरु गर्ने तरखरमा छन् । कोरोनाको महामारीपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन अहिलेका चल्तीका कलाकारले पारिश्रमिक घटाउनुपर्ने र फिल्म छायांकनका लागि चाहिने क्यामेरा लगायतका उपकरणको शुल्क कम गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
यसबीच, फिल्मको छायांकनका लागि विभिन्न उपकरणहरु उपलब्ध गराउँदै आएका चार कम्पनीबीच सहकार्य भएको छ । यसअघि एकअर्कासँग प्रतिस्पर्धा गर्दै आएका अश्लेषा इन्टरटेन्मेन्ट (विश्व गौचन), सिनेफोर्स रिन्टल (रजत बुढाथोकी), मल्टी मेट (जीवन थापा) र जस्मिन फिल्मस् (धिरेन शाक्य) बीच फिल्म खिच्न आवश्यक पर्ने उपकरणहरु मिलेर पठाउने सहमति भएको हो ।
मल्टी मेटका सञ्चालक जीवन थापाले ‘एसीएमजी ग्रुप’ बाट आउँदो भदौ १ गतेदेखि फिल्म छायांकनका लागि चाहिने क्यामेरा वा अन्य उपकरण पठाउने निर्णय भएको बताए । ‘पहिले निर्माताले तिर्ने क्यामेरा लगायतका उपकरणको भाडामा एकरुपता थिएन, अब त्यो अवस्थाको अन्त्य भएको छ । अब हाम्रो ग्रुपले नै सबै उपकरण उपलब्ध गराउनेछ,’ उनले भने ।
अब फिल्म निर्माणको गति बढाउन निर्मातालाई विशेष प्याकेजका साथ क्यामेरा लगायतका उपकरण उपलब्ध गराउने पनि उनी बताउँछन् । थापाले अगाडि भने- ‘अब क्यू सिस्टममा उपकरणहरु पठाइनेछ । यसले निर्मातालाई पनि राहत दिन्छ' । क्यामेरा र अन्य उपकरणमा कति छुट दिने भन्ने विषयमा केही दिनमा निर्णय हुने उनले बताए ।

