(1).jpg)
नेपाली फिल्म इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको सिरिज हो- ‘छक्का पञ्जा’ । यो फिल्मका तीनवटा सिरिजले नेपाली फिल्मको स्वदेश तथा विदेशमा बजार विस्तार गर्न पनि ठूलो भूमिका खेलेको छ । अब यो फिल्मको चौथो श्रृंखला निर्माण हुँदैछ । यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिए पनि कोरोनाको महामारीका कारण फिल्मको छायांकन समेत सुरु भएको छैन ।
चलनचल्तीमा रहेका उखान टुक्कालाई जोडजाड गरेर फिल्म बनाउने गरेको आरोप खप्दै आएको दीपक-दीपाको समुह ‘छक्का पञ्जा ४’ मा भने फरक कथा भन्ने प्रयासमा छ । कलाकार दीपकराज गिरी लकडाउन हुनुभन्दा अगावैदेखि फिल्मको स्क्रिप्टमा व्यस्त थिए । लामो समयदेखि एउटै शैलीको कथा भनेका कारण यसपटक आफ्नोपन बोक्ने कथा भन्ने उनले बताएका छन् ।
‘छक्का पञ्जा ४’ को कथा अघिल्ला सिरिजभन्दा भिन्न रहेको र छायांकनका लागि एक वर्ष लाग्ने दीपकराजको भनाई छ । उनका अनुसार, फिल्म तीन करोडको लागतमा निर्माण हुनेछ । फिल्मको छायांकन लामो समयसम्म चल्ने भएकाले योभन्दा अगाडि दीपक-दीपाको समुह बाहिरी ब्यानरको फिल्म गर्ने तयारीमा छ । स्थिति सामान्य भएपछि उक्त फिल्मको छायांकन सुरु हुनेछ ।
‘६ एकान ६’ देखि फिल्म निर्माणमा सक्रिय रहेको दीपक-दीपाको समुहले गएको वर्षबाट बाहिरी ब्यानरसँग सहकार्य गरेर फिल्म निर्माण गर्न थालेको हो । फिल्म ‘छ माया छपक्कै’ मा मुनाफाको ६० प्रतिशत लिने सर्तमा उनीहरुले निर्माता रोहित अधिकारीसँग सहकार्य गरेका थिए । यो फिल्म सफल भएपछि दीपक-दीपाको समुहलाई बाहिरी ब्यानरसँग सहकार्य गर्न थप सहज भएको छ ।

