गएको महिना भारतको चर्चित अनलाइन पत्रिका ‘आजतक’ ले ‘बलिउडमा नाम कमाएका नेपाली कलाकार यी हुन्’ भनेर एउटा आर्टिकल लेखेको थियो । त्यसमा मनीषा कोइराला, सुनिल थापा, उदितनारायण झासँगै भोलाराज सापकोटाको बारेमा पनि उल्लेख गरिएको थियो । रंगमञ्च र सिरियल हुँदै फिल्ममा प्रवेश गरेका उनले फिल्म ‘बर्फी’ बाट बलिउडको सदस्यता लिएका थिए ।

यसमा बलिउड सुपरस्टार रणवीर कपूर प्रमुख भूमिकामा थिए । भोलाराज उनको साथीको भूमिकामा थिए । अनुराग बसु निर्देशित यो फिल्ममा उनको भूमिका र अभिनय निकै रुचाइयो । तर, यसपछि उनले बलिउड फिल्ममा निरन्तरता दिन सकेनन् । अहिले नाटक र फिल्म अभिनयमा सक्रिय रहेका उनी बलिउडका साथीहरुसँग फिल्मको विषयमा कुरा भइरहने बताउँछन् ।
‘बर्फी’ पछि घरायसी कारणले नेपाल फर्किएँ । पछि म मुम्बई गएको पनि थिएँ । सौरभ शुक्लाको स्क्रिप्टमा फिल्म ‘यात्रा’ गर्ने पक्कापक्की भएको थियो । तर, विभिन्न कारणले त्यो फिल्म बनेन । गत वर्ष एउटा फिल्म गर्ने फाइनल भएको थियो । यो फिल्म चाहिँ यसै वर्षबाट सुरु हुन्छ होला,’ उनले भने । उनी नेपाली र बलिउड दुवै उद्योगमा आफूलाई भिजाउने सोचमा छन् ।
‘बर्फी’ मा काम गर्दाका क्षणहरु उनको मनस्पटलमा सधैं घुमिरहन्छन् । फिल्मको एक सिनमा संवाद बोल्न नसक्दा सौरभ शुक्लाले अर्को कलाकार लिन निर्देशक अनुराग बसुलाई गरेको आग्रह उनले विर्सेका छैनन् । ‘म, सौरभ शुक्ला र रणवीर कपूरको एक सिन थियो चौकीमा । त्यो सिनमा मैले संवाद बोल्न नसक्दा सौरभ शुक्लाले अर्को कलाकार राख्न भन्नुभएको थियो,’ उनी सम्झन्छन् ।
आफूले संवाद बोल्न नसकेपछि रणवीरले सहजीकरणको भूमिका खेलेको उनी स्मरण गर्छन् । ‘त्यसबेला रणवीरले सहजीकरण नगरेको भए जे पनि हुन्थ्यो । फिल्मबाटै हट्न सक्थेँ । उहाँले निर्देशकसँग एकछिन समय मागेर मसँग रिहर्सल गर्नुभयो । हामीबीच गफगाफ भयो । पछि त्यो सिन मैले सजिलै गरेँ,’ उनले भने । उनी रणवीरबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछन् ।

उनलाई सुरुमा रणवीरसँग बोल्न पनि अप्ठ्यारो लागेको रहेछ । उनी भन्छन्, ‘बलिउडको स्टार कलाकार । राम्रोसँग चिनजान पनि भएको थिएन । सुरुमा त उहाँको अगाडि जान पनि अप्ठ्यारो लाग्यो । तर, पछि राम्रोसँग बोलीचाली भएपछि गाह्रो भएन ।’ उनी रणवीरलाई घमण्ड नभएको कलाकारको रुपमा चित्रित गर्छन् । नेपालीलाई हेर्ने नजर पनि राम्रो रहेको उनको भनाई छ ।

