अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्मको आँधी उठ्यो । त्यसको बाछिटा नेपाली फिल्मसम्म आइपुग्यो । अभिनेत्री नम्रता सापकोटाले नेपोटिज्मका कारण धेरै प्रतिभावान कलाकार डिप्रेसनको शिकार भएको बताएपछि यस विषयमा विभिन्न फिल्मकर्मीहरुले आफ्नो विचार राखे । ‘महानायक’ विवादपछि भने अहिले यो विषय लगभग सेलाएको छ ।
दिक्पाल कार्की पनि यस विषयमा बहसमा उत्रने अभिनेता हुन् । फिल्म क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्म व्याप्त रहेको बताउने उनी आफू दुई फिल्म गरेर पुनः मोडलिङमा फर्किनुको कारण पनि यसैलाई मान्छन् । दुई सयको आसपासमा म्यूजिक भिडियोमा काम गरिसकेका उनले फिल्म ‘रंग बैजनी’ बाट लिड अभिनेताको रुपमा डेब्यू गरेका थिए । ‘च्याम्पियन’ उनको दोस्रो फिल्म थियो ।

दुवै फिल्म असफल भएपछि दिक्पाल अभिनयमा सक्रिय छैनन् । जुन पृष्ठभूमिबाट आएका थिए, त्यसैमा रमाइरहेका छन् । फिल्म नगर्नुको कारण नेपोटिज्म र ग्रुपिज्म नै हो त ? फिल्मीखबरको प्रश्नमा उनले भने- ‘यदी म कुनै ग्रुपसँग नजिक भएको हुन्थेँ भने आज मोडलिङमा फर्किनु पर्दैन थियो होला । म कुनै ग्रुपसँग नजिक नै भइनँ । त्यसैले राम्रो मेकरबाट फिल्म अफर भएन ।’
‘रंग बैजनी’ र ‘च्याम्पियन’ आफूले राम्रो फिल्म भनेर गरेको भएता पनि असफल भएको उनी बताउँछन् । ‘मोडलिङ गरिरहँदा मलाई धेरै फिल्मबाट अफर आएका थिएँ । यी दुई फिल्म चाहिँ मेरो करिअरका लागि राम्रो हुनसक्छ भनेर गरेको थिएँ । तर, फिल्म चलेन । यदी म कुनै ग्रुपसँग नजिक भएको हुन्थेँ भने फिल्म फ्लप हुँदा पनि मैले राम्रो फिल्म पाइरहेको हुन्थेँ’, उनले भने ।
आफू ग्रुपिज्मको विरुद्धमा रहको बताउने दिक्पाल अब फिल्ममा फर्किने सम्भावना न्यून रहेको बताउँछन् । दुई फिल्मको असफलताले फिल्म क्षेत्रमा ‘फ्लप हिरो’ को ट्याग लागेकाले नयाँ फिल्म गर्ने सम्भावना कम रहेको उनको भनाई छ । उनी भन्छन्, ‘मैले फिल्म नगरेको झण्डै ६ वर्ष भइसक्यो । ग्रुपिज्मका कारण अब राम्रो फिल्म नपाउन सक्छु । त्यसैले अब फिल्म गर्दिनँ होला ।’

