Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘आँधी तुफान २’ मा दोहोरिएलान् पूजना, ऋचा र रञ्जु ?

फिल्मीखबर, काठमाण्डौ, 2020/07/27
केही वर्षयता सिक्वेल निर्माणतर्फ नेपाली निर्माताहरुको आकर्षण बढ्दो छ । ‘ए मेरो हजुर’, ‘छक्का पञ्जा’, ‘नाईं नभन्नू ल’ लगायतका फिल्मका सिक्वेलले बक्सअफिसमा पाएको सफलताका कारण निर्माताहरु हिट फिल्मको सिक्वेलमा लगानी गर्न अगाडि सरिरहेका छन् । नयाँ फिल्मभन्दा सिक्वेलमा लगानी डुब्ने खतरा कम हुन्छ । दर्शकमा पनि सिक्वेलप्रति चासो बढी हुने गरेको छ । 
 
 
एकपछि अर्को सुपरहिट फिल्मको सिक्वेल निर्माण भइरहँदा ०६१ सालमा बनेको फिल्म ‘आँधी तुफान’ को पनि सिक्वेल निर्माण हुँदैछ । लेखक तथा निर्माता मौनता श्रेष्ठले भदौबाट फिल्मको छायांकन सुरु गर्ने बताएका छन् । यतिबेला फिल्मका लागि गीत रेकर्डिङको काम भइरहेको छ । हरी उप्रेतीको शब्द र विकास चौधरीको संगीतमा सोमवार एक गीत रेकर्ड गराइएको छ ।
 
लेडी एक्सन प्रधान ‘आँधी तुफान’ मा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । यसको सिक्वेलमा उनीहरु दोहोरिने सम्भावना कति छ ? निर्माता तथा लेखक श्रेष्ठ भन्छन्, ‘पुराना कलाकार दोहोरिने सम्भावना कम छ । सकभर अहिलेका चल्तीका अभिनेत्री लिन सक्छौं । उहाँहरुसँग कुरा मिलेन भने पुराना तथा अनुभवी अभिनेत्रीलाई लिनेछौं ।’
 
अभिनेत्री पूजना फिल्म ‘चकलेट’ पछि काँचको पर्दामा देखिएकी छैनन् । अर्की अभिनेत्री ऋचा अमेरिका पलायन भएको वर्षौ भइसकेको छ । त्यस्तै, रञ्जु पनि अभिनयमा सक्रिय छैनन् । यसकारण यी तीन अभिनेत्री ‘आँधी तुफान २’ दोहोरिने दूरदूरसम्म पनि सम्भावना छैन । लामो समयदेखि कामविहीन भएर बसेकी पूजनाले भने फिल्ममा काम गर्ने इच्छा देखाएको बुझिएको छ । 
 
 
मौनताले लकडाउन अवधिमा फिल्म ‘आँधी तुफान २’ को स्क्रिप्ट तयार पारेका हुन् । उनले यो फिल्म नारी कथानक हुने र सत्य घटनामा आधारित भएर निर्माण हुने बताएका छन् । फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ रहनेछन् । फिल्मका लागि अहिलेसम्म निर्देशक फाइनल भएका छैनन् । केही दिनमा कलाकारसँगै निर्देशकको पनि टुंगो लाग्ने निर्माता श्रेष्ठले जानकारी दिएका छन् ।
Most Visited News (monthly)