Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रलाई चलायमान बनाउन छलफल भइरहेको छ : सञ्चारमन्त्री खतिवडा

फिल्मीखबर, काठमाण्डौ, 2020/07/26
 
चार महिना लामो लकडाउन अन्त्य भए पनि फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । अन्य क्षेत्र खुल्ला गरेर फिल्म क्षेत्रमा प्रतिबन्ध लगाएकोमा फिल्मकर्मीहरु आक्रोशित छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भने फिल्म क्षेत्र चलायमान बनाउन छलफल भइरहेको बताएका छन् । यो क्षेत्र पुनः सञ्चालनका लागि सरकार गम्भीर रहेको उनको भनाई छ । 
 
चलचित्र विकास बोर्डको शुक्रबार निरीक्षणका क्रममा सञ्चारमन्त्री खतिवडाले भने- ‘फिल्म क्षेत्रलाई पनि विस्तारै चलायमान बनाउँदै लैजाने विषयमा सरकारमा छलफल भइरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्दै फिल्मको छायांकन र प्रदर्शन गर्ने विषयमा छलफल भइरहेको छ । राष्ट्र निर्माणको अभिन्न अङ्गका रूपमा सरकारले फिल्म क्षेत्रलाई लिएको छ ।’ 
 
फिल्म क्षेत्रले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण बजेटमा प्राथमिकता दिएको पनि उनले चर्चा गरे । कोरोनाबाट अतिप्रभावित व्यवसायमा फिल्म क्षेत्र नपरेको फिल्मकर्मीको गुनासो सम्बोधन गर्दै उनले भने- ‘कोरोना प्रभावित अन्य उद्योग व्यवसायले पाएजस्तै फिल्म क्षेत्रले पनि सुविधा र सहुलियत पाउने छ । यो विषयलाई मौद्रिक नीतिले समेत सम्बोधन गरेको छ ।’
 
चलचित्र विकास बोर्डले पुराना फिल्म ‘डिजिटाइज’ गर्न थालेकोमा प्रशंसा गर्दै उनले यस्तो कार्यले इतिहास सुरक्षित राख्न मद्दत पुग्ने बताए । कोरोनाका कारण पूर्वनिर्धारित अन्य गतिविधि गर्न नसकिए पनि नीतिगत निर्णयमा लाग्न मन्त्री खतिवडाले बोर्ड पदाधिकारीलाई सुझाव दिएका छन् । फिल्म क्षेत्रको लगानी सुरक्षित गर्ने विषयमा सरकार गम्भीर भएको पनि उनको भनाई छ ।
Most Visited News (monthly)