.jpg)
काँचको पर्दामा जमेका कलाकारहरुको म्यूजिक भिडियोप्रति मोह बढ्दो छ । एकै दिनमा छायांकन सकिने, आकर्षक पारिश्रमिक पाइने र प्रचारमा हिँड्नु नपर्ने काइदाका कारण अपबाद बाहेक प्रायः कलाकारहरु अफर भएका म्यूजिक भिडियोहरु उम्काउँदैनन् । अघिल्लो पुस्ताका राजेश हमालदेखि नयाँ छिमलका प्रदीप खड्कासम्मले म्यूजिक भिडियोमा उपस्थिति जनाइसकेका छन् ।
यसबाट अभिनेता विपिन कार्की पनि अछुतो बस्न सकेनन् । रंगमञ्च हुँँदै फिल्ममा प्रवेश गरेका उनले केही म्यूजिक भिडियोमा काम गरिसकेका छन् । उनले पहिलो पटक ‘फनफनी’ बोलको गीतमा अभिनय गरेका थिए । यसपछि उनले ‘बटौली’ गीतमा काम गरे । यसमा उनको अभिनय निकै रुचाइएको थियो । उनले अभिनय गरेको तेस्रो म्यूजिक भिडियो पनि चाँडै सार्वजनिक हुँदैछ ।
फिल्म ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गरेको ‘डर छैन’ बोलको गीतमा अभिनेता कार्कीले भरियाको भूमिकामा अभिनय गरेका छन् । लकडाउनले रोजीरोटी गुमेपछि एक मजदूरको पीडालाई गीतले ओकलेको हुनसक्ने निर्माण टिमले सार्वजनिक गरेको पोस्टरबाट अनुमान गर्न सकिन्छ । पोस्टरमा विपिनको हातमा नाम्लो र निराश मुद्रामा देखिएका छन् ।
अन्य कलाकार झैँ लगातार म्यूजिक भिडियोमा काम नगरे पनि विपिन कार्कीको यसतर्फ मोह बढ्दै गएको भने देखिन्छ । ‘जात्रा’ सिरिजको सफलताले करिअरको उत्कर्षमा पुगेका उनी फिल्म छनौटमा चुजी मानिन्छन् । उनले स्क्रिप्ट र भूमिका चित्त बुझेपछि मात्र फिल्म साइन गर्ने बताइन्छ । कोरोनाको महामारी अन्त्य भएपछि उनी फिल्म ‘के घर के डेरा’ को छायांकनमा व्यस्त हुँदैछन् ।

