मंगलवारबाट चार महिना लामो लकडाउन अन्त्य भयो । देशको आर्थिक अवस्था डामाडोल हुनु र सर्वसाधारणलाई दैनिक गुजरा चलाउन पनि समस्या भएपछि सरकारले लकडाउन हटाउनुको अरु विकल्प भेटेन । तर, लकडाउन अन्त्य भए पनि कोरोनाको जोखिम कम भएको छैन । संक्रमितको संख्या बढेको बढ्यै छ । अब नागरिक आफैंले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।
लकडाउनको समयमा बन्द रहेका नेपालको अर्थतन्त्रका खम्बा मानिने विभिन्न क्षेत्र खुलिसकेका छन् । सार्वजनिक यातायातदेखि हवाई उडानसम्म सञ्चालनका लागि अनुमति दिइएको छ । तर, हजारौंको संख्यामा आश्रित फिल्म क्षेत्र पुनः सञ्चालनका लागि सरकारले अहिलेसम्म कुनै निर्णय लिएको छैन । लकडाउनको अन्त्य हुँदा पनि यो क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको छ ।
कोरोनाको कहरबीच सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ को बजेटमा फिल्म क्षेत्रका समस्या सम्बोधन हुन सकेन । यो क्षेत्र कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा पनि परेन । सिनेमा हल बन्द हुँदा हल सञ्चालकको करोडौंको लगानी जोखिममा परेको छ । प्रदर्शनको तयारीमा रहेका र छायांकनरत फिल्मको काम रोकिँदा निर्मातालाई लाखौंको क्षति भएको छ ।
 (5).jpg)
त्यस्तै, कोरोनाका कारण फिल्म सम्बन्धि सम्पूर्ण कार्य ठप्प हुँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । अहिले उनीहरुलाई चुलो बाल्न समेत समस्या भएको छ । भीडभाड हुने विभिन्न क्षेत्र खुल्दा फिल्म क्षेत्र पुनः सञ्चालनका लागि सरकार गम्भीर नभएको फिल्मकर्मीहरुको गुनासो छ । यो क्षेत्र तत्काल खुल्ला नगरे त्यसको असर दीर्घकालिन रुपमा पर्ने एकथरी फिल्मकर्मी बताउँछन् ।
फिल्म क्षेत्र खोल्न सरकार गम्भीर नभएको भन्ने टिप्पणी भइरहँदा विभिन्न विषयमा फिल्मकर्मीबीच गम्भीर बहस हुन आवश्यक देखिन्छ । मानिसहरु अझै निर्भिक रुपमा घरभन्दा बाहिर निस्कन सकेको अवस्था छैन । कोरोनाको भयले सबैको मन आतंकित छ । त्यसमाथि फिल्म क्षेत्र भीडभाड हुने क्षेत्रमा पर्छ । कसैलाई संक्रमण रहेछ र फैलियो भने नियन्त्रण गर्न असम्भव हुन्छ ।
यद्यपि, अन्य क्षेत्रमा कम, फिल्म क्षेत्रमा बढी जोखिम हुने भन्ने चाहिँ हुँदैन । तर, सरकारले सिनेमा हल खोल्न अनुमति दिँदै गर्दा के सिनेमा हलमा दर्शक फिल्म हेर्न पुग्लान् ? कर्मचारीको तलब पनि दिन नसक्ने दर्शक राखेर फिल्म देखाउन हल सञ्चालक तयार छन् ? कम दर्शकका बावजूद पनि फिल्म प्रदर्शन गर्न आँट निर्मातामा छ ? सुटिङ सेटमा कसैलाई संक्रमण देखिए उपचार गर्न निर्माताको खल्तीबाट नोट निस्किएला ? पहिला यो प्रश्नको जवाफ खोज्न आवश्यक छ ।
लकडाउन अन्त्य हुँदा पनि फिल्म क्षेत्र नखुलेपछि अभिनेत्री पूजा शर्माले फेसबुकमा स्टाटस लेखेर भारतको फिल्म क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नु पर्ने हो भन्दै सरकार र फिल्म क्षेत्रका अगुवाहरुलाई प्रश्न गरिन् । कोरोना कहरबाट सुरक्षित रहने व्यवस्थासहित फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्मकर्मीबीच बहस र सरकारलाई दबाब दिन पनि उनले आग्रह गरेकी छन् ।
पूजाले अब फिल्म क्षेत्र चलायमान बनाउनु पर्छ भनिरहँदा एउटा प्रश्नको जवाफ उनले पनि दिन आवश्यक छ । उनी फिल्म ‘म यस्तो गीत गाउँछु २’ की निर्मात्री पनि हुन् । कोरोनाबाट प्रभावित भएको फिल्म हो यो । सरकारले फिल्म क्षेत्र खोल्न अनुमति दिँदै गर्दा सिनेमा हलमा पहिलो फिल्म प्रदर्शन गर्न के पूजा तयार छिन् ? स्टाटस लेख्दै गर्दा यो पनि भनिदिएको भए कति राम्रो हुन्थ्यो ।
लकडाउनको समय एकअर्कालाई हिलो छ्यापाछ्याप गरेरै वित्यो । यो जटिल परिस्थितिमा फिल्म क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन विचार मन्थन गर्ने जाँगर कसैलाई चलेन । फेसुबकमा स्टाटस लेख्नुको सिवाय । फिल्म क्षेत्र खुलेपछि फिल्म निर्माणको गति कसरी बढाउने, प्रदर्शनको वातावरण कसरी मिलाउने र कस्ता सावधानी अपनाएर हल खोल्ने विषयमा बहस भएको खोइ ?

