.jpg)
अभिनेता सुशील सिटौला दर्शकमाझ उतिधेरै चिनिएको अनुहार होइन । ‘होस्टेल रिर्टन्स’ उनको डेब्यू फिल्म थियो । यसमा उनी सुदुरपश्चिमबाट काठमाडौं पढ्न आएको एक विद्यार्थीको भूमिकामा थिए । यो फिल्ममा उनको अभिनयले दर्शक तथा समीक्षकको मन जितेको थियो । यसपछि उनले ‘गाँजाबाजा’ र ‘रणवीर’ नामक फिल्ममा काम गरे । तर, यी दुवै फिल्मले हलमा घुँडा टेके ।
‘होस्टेल रिर्टन्स’ को सफलताको श्रेय उनले पाएनन् । नामका कारण लामो समय विवादमा फसेको ‘गाँजाबाजा’ समीक्षकले रुचाए पनि दर्शकले वास्ता गरेनन् । यसमा उनको अभिनयको भने प्रशंसा भएको थियो । त्यस्तै, ‘रणवीर’ मा उनी एक्सन अवतारमा प्रस्तुत भए । फिल्मका लागि उनले कडा तपस्या गरेका थिए । तर, यो फिल्मले पनि उनको करिअरमा इट्टा थप्ने काम गरेन ।
‘रणवीर’ भन्दा अगाडि सुशीलले फिल्म ‘चिनी कम रंग कडा’ मा काम गरेका थिए । विभिन्न कारणले प्रदर्शनमा आउन नसकेको यो फिल्मलाई अहिले अमेजन प्राइममा रिलिज गरिएको छ । डलर तिरेर हेर्नुपर्ने भएका कारण यो फिल्मले धेरै दर्शकको साथ पाएको छैन । निर्माण टिम भने दर्शकले फिल्म रुचाएकोमा खुसी साटिरहेको छ । फिल्मलाई विवेक घिमिरेले निर्देशन गरेका हुन् ।
यसमा आफूले खोजेको जस्तो भूमिका रहेको सुशील बताउँछन् । तर, एपमा फिल्म रिलिज भएर उनको भूमिका कस्तो छ दर्शकले थाहै नपाउने भए ! फिल्म यूट्युबमा रिलिज भएको हुन्थ्यो भने बरु उनको भूमिका र अभिनयको दर्शकले मुल्यांकन गर्ने थिए । एकातिर हिरो भएको फिल्म चलेन । अर्कोतिर आश गरेको फिल्म एपमा रिलिज भइदियो । सुशीललाई पनि तनावै तनाव छ ।

