Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रसाद २’ बन्ने, निर्देशक फेरिए

फिल्मीखबर, काठमाडौं, 2020/07/21
 
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको व्यवसायिक तथा समीक्षात्मक दुवै हिसाबले सफल फिल्म ‘प्रसाद’ को सिक्वेल निर्माण हुने भएको छ । दशैंपछि छायांकन सुरु गर्ने गरी अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको निर्माता सुभाष थापाले जानकारी दिएका छन् । फिल्मको स्क्रिप्ट ‘प्रसाद’ कै लेखक शुशील पौडेलले लेखिरहेका छन् । उनी यतिबेला स्क्रिप्टलाई मूर्तरुप दिन व्यस्त छन् । 
 
‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । यो फिल्मको पहिलो श्रृंखलालाई दिनेश राउतले निर्देशन गरेका थिए । यसको सिक्वेललाई ‘लभ डायरीज’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गर्दैछन् । उनी निर्देशकको रुपमा अनुबन्ध भइसकेको निर्माता थापाले बताए । फिल्ममा कलाकार पुरानै दोहोरिने सम्भावना प्रवल छ । तर, अहिलेसम्म कुनै कलाकार अनुबन्ध भएका छैनन् । 
 
‘प्रसाद’ मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो । यसको सिक्वेल गर्न पनि उनीहरु सकारात्मक रहेको बुझिएको छ । फिल्ममा निर्देशकको रुपमा दिनेश राउत नहुनुको कारणबारे निर्माता थापाले फिल्मीखबरसँग भने- ‘अहिले उहाँको पाइपलाइनमा ३/४ वटा फिल्म रहेछ । उहाँलाई कुर्दा २/३ वर्ष लाग्ने भएपछि सौरभ चौधरीलाई निर्देशकमा अनुबन्ध गरेको हुँ ।’ 
 
उनका अनुसार, ‘प्रसाद’ जहाँबाट सुरु भएको थियो त्योभन्दा अगाडि र जहाँ अन्त्य भएको थियो त्यसपछिको कथा सिक्वेलमा जोडिनेछ । विवाहभन्दा अगाडि विपिन र नम्रताबीचको प्रेम र सन्तान भएपछिको कथालाई पर्दामा उतारिने उनले बताए । कोरोनाको महामारी सामान्य भएपछि फिल्म घोषणा गर्ने तयारीमा रहेका उनी फिल्म ‘सेल्फी किङ’ का निर्माता पनि हुन् ।
Most Visited News (monthly)