Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म भगवान होइन, खराब पनि छैन : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2020/07/21
नेपाली फिल्म क्षेत्रमा तीन दशक विताइसकेका अभिनेता राजेश हमाल यतिबेला चर्चाको केन्द्रमा छन् । एक समयकी अभिनेत्री तथा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा हमाललाई दिइएको उपाधिमाथि प्रश्न उठाउँदै ‘महानायक को हो ?’ भनेर अभिव्यक्ति दिएपछि देश तथा विदेशमा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिए ।
 
दुई/चारवटा फिल्म हिट भएपछि घमण्ड बढेको भन्दै सामाजिक सञ्जालमा दीपाश्रीमाथि अश्लिल गाली वर्षियो । आफ्नो चरित्र हत्या हुने गरी टिका-टिप्पणी भएपछि उनले फेसबुकमा स्टाटस लेखेर हमालका प्रशंसकसँग माफी पनि मागिन् । तैपनि, उनीमाथि गाली गर्नेको भीड कम भएन । हमाल आफैंले दीपाश्रीलाई माफी दिन आग्रह गरेपछि अहिले यो विषय लगभग साम्य भएको छ । 
 
‘महानायक’ विवाद सतहमा आएपछि समीक्षकहरुले कुन आधारमा राजेश हमाल ‘महानायक’ को हकदार भनेर प्रश्न उठाएका छन् । थोरै संख्यामा सम्झनलायक फिल्म गरेको, कुनै फिल्ममा चरित्रमा नडुबेको, कलाकार भएको नाताले समाजप्रतिको उत्तरदाहित्व निर्वाह नगरेको लगायतको आरोप लगाउँदै उनी ‘महानायक’ उपाधिका लागि योग्य नभएको विश्लेषण उनीहरुको छ । 
 
 
‘महानायक’ को उपाधिमाथि टिप्पणी भइरहँदा अभिनेता हमालले एक टेलिभिजन कार्यक्रममा आफ्नो भनाई राख्दै उपाधि वा स्याबासीले उर्जा र हौसला मिल्ने भए पनि आफूले आफूलाई भगवान नठान्ने बताएका छन् । कति दर्शकले आफूलाई ‘महानायक’ मात्र नभएर भगवान समेत भन्ने गरेको सम्झँदै उनले भनेका छन्, ‘तर म भगवान त होइन नी । त्यो भ्रम पैदा हुनु पनि हुँदैन ।’
 
‘म नेपालका दुरदराजमा पुग्दा तपाईं त भगवान हो भन्नुहुन्छ । यो उहाँहरुको मप्रतिको सम्मान हो । त्यसले मलाई उर्जा दिन्छ । म त्यो हो भन्ने भ्रम पैदा हुँदैन,’ झापाको एक घटना सम्झँदै उनले भने- ‘झापामा एक फिल्मको छायांकनका लागि म १५/२० दिन बसेको थिएँ । त्यसबेला एक पर्व परेको थियो । त्यहाँका महिलाहरु पूजाको थाली लिएर आउनुभयो । त्यहाँ दुई/तीनवटा भगवानको फोटोसँगै मेरो पनि फोटो थियो ।’ 
 
कसैले महान भने फुरुङ्ग पर्ने र घृष्णा गरे निराश हुनु नपर्ने अभिनेता हमालले बताएका छन् । तारिफ र आलोचना दुवैको सन्तुलन एउटा कलाकारमा हुनुपर्ने उनको कथन छ । उनी आफ्नो पेशालाई इमान्दारपूर्वक लिन पनि सुझाव दिन्छन् । तर, पेशालाई कहिल्यै गम्भीरतापूर्वक लिन नहुने उनको तर्क छ । उनी मानिसले आफ्नो मानवतालाई गम्भीरतापूर्वक लिनु पर्ने बताउँछन् । 
 
‘महानायक’ पदवीको बारेमा उनले भनेका छन्, ‘मैले ‘महानायक’ उपाधिलाई कहिल्यै गम्भीरतापूर्वक लिएको छैन । त्यो मलाई दिएको स्याबासी हो । तर, त्यसले म को हुँ भन्ने कुरा विर्साएको छैन । ‘महानायक’ त के कति दर्शकले मलाई भगवान पनि भन्नुहुन्छ । तर, म भगवान त होइन नी । मलाई नरुचाउनेले यो कलाकार होइन पनि भन्नुभएको छ । तर, म कलाकार त हो नी ।’ 
 
अभिनेता राजेश हमालले आफूले पाउने स्याबासी र आलोचना दुवैलाई गम्भीरतापूर्वक नलिने बताएका छन् । उनले थपेका छन्, ‘स्याबासी कसलाई मन पर्दैन । तपाईंले केही कार्य गर्नुहुन्छ र कसैले स्याबासी दिन्छ भने कसलाई मन पर्दैन । त्यो स्याबासीको मुख्य उद्येश्य तपाईंलाई आफ्नो कार्यमा प्रेरित गर्ने हुन्छ ।’ स्याबासी पाएको भनेर फुरुङ्ग भए प्रतिउत्पादक हुने उनको भनाई छ । 
Most Visited News (monthly)