शहरीया युवापुस्तामाझ परिचित अनुहार हुन्, अभिनेता पुष्प खड्का । २ सय बढी म्यूजिक भिडियोबाट राम्रो क्रेज बनाएका उनी अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामा पर्छन् । फिल्म ‘अझै पनि’ बाट सहायक अभिनेताको रुपमा करिअर सुरु गरेका उनले फिल्म ‘दर्पण छायाँ २’ मा लिड रोलमा ब्रेक पाएका थिए । तर, यी दुवै फिल्मले उनको करिअरलाई उचाइ दिन सकेन ।
दुई फिल्मको असफलतापछि पुष्प हच्किएका थिए । तर, नवल नेपाल निर्देशित पारिवारिक फिल्म ‘मंगलम’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यसमा उनले प्यारालाइसिस भएको युवकको भूमिकामा उम्दा अभिनय गरेका थिए । यो फिल्मले उनलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत दिलायो । राष्ट्रिय पुरस्कार पाउनु एउटा कलाकारका लागि ठूलो उपलब्धि मानिन्छ ।

‘मंगलम’ पछि पुष्पले दुई फिल्ममा काम गरे- ‘दाल भात तरकारी’ र ‘मारुनी’ । तर, यी दुई फिल्ममा उनको अभिनयले दर्शक तथा समीक्षकलाई खुसी बनाएन । लकडाउन हुनुभन्दा अगाडि उनी फिल्म ‘चालबाज’ को छायांकन व्यस्त थिए । अहिले एक फिल्म साइन गरेर बसेका उनी सोमवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३१ वर्षमा लागेका उनको जन्म कैलाली जिल्लामा भएको थियो ।
अभिनेता पुष्पले पाँचमध्ये दुईवटा फिल्म निर्देशक नवल नेपालसँग गरेका छन् । ‘मंगलम’ र ‘मारुनी’ मा उनीहरुबीच सहकार्य भएको थियो । फिल्म क्षेत्रमा पुष्पलाई सबैभन्दा नजिकबाट चिन्ने व्यक्ति नै नवल हुन् । पुष्प आफूलाई अफर हुने हरेक फिल्मको स्क्रिप्ट नवललाई पढ्न दिने गरेको समेत बजारमा चर्चा छ । यसबाटै बुझ्न सकिन्छ कि उनीहरुबीच कस्तो सम्बन्ध कायम छ ।
आखिर पुष्पलाई कसरी बुझेका छन् नवलले ? उनको नजरमा कस्ता छन् पुष्प ? जन्मदिनको अवसरमा पुष्प खड्काको बारेमा निर्देशक नवल नेपालसँग फिल्मीखबरले सोधेको तीन प्रश्न यस प्रकार छन् :-
१. तपाईंको नजरमा पुष्प खड्का कस्तो ?
कलाप्रति उसको मोह मैले देखेको छु । कला क्षेत्रलाई निरन्तरता दिनका लागि अथवा यसपछि कसरी बजारमा आफ्नो क्षमतालाई पोख्न पाइन्छ भनेर निरन्तर लाग्न चाहिँ खोज्ने मान्छे हो, ऊ । कलाप्रतिको आशक्ति पनि छ ऊसँग । अनि, ठूलो सपना बोकेर बसेको मान्छे हो । इच्छा शक्ति पनि छ ऊसँग । तर, कहिले काहिँ के भइदिँदो रहेछ भने भगवानले त्यो कला प्रस्फोटन गर्नको लागि कतिसम्म दिएको छ त्यो उसले चिन्न जरुरी छ ।
उसले साधना गरिरहेको छ तर ऊ त्यहाँसम्म पुग्न सकिरहेको छैन । उसले बुझ्नु पर्छ कला क्षमता भनेको के हो, यो कलालाई प्रस्फोटन गर्न कुन हदसम्म आफू पागल बन्नुपर्छ । जन्मदिनको अवसरमा म उसलाई के पनि शुभकामना दिन्छु भने उसले आफूले आफूलाई चिन्न जरुरी छ । मेरो क्षमता यहाँसम्म हो, मैले यसलाई जसरी पनि भेटाउनुपर्छ भनेर उसले एउटा आशक्ति चाहिँ प्रकट गर्नैपर्छ ।
२. ‘मंगलम’ र ‘मारुनी’ मध्ये कुनमा पुष्पको अभिनय मन परेको थियो ?
‘मंगलम’ र ‘मारुनी’ मा पुष्पका दुई प्रकारका चरित्र थिए । ‘मंगलम’ मा बढी एक्सप्रेसन थियो । ‘मारुनी’ मा चाहिँ एक्सप्रेसन, बडी ल्याङवेजसँगै संवाद पनि हाबी थियो । यी तिनै कुरालाई सन्तुलित गर्ने क्रममा कतै १९/२० भयो होला । तर, के भने मान्छे त एउटै हो । ‘मंगलम’ मा गर्न सक्ने मान्छेले ‘मारुनी’ मा पनि गर्न सक्थ्यो नी त । त्यसकारणले उसले बोल्ने संवाद, बडी ल्याङवेजलाई आधार मानेर हेर्ने हो भने ‘मंगलम’ र ‘मारुनी’ मा लगभग समान्तर नै छ ।
३. पुष्प खड्कालाई कस्तो खालको भूमिकामा हेर्न चाहनुहुन्छ ?
पुष्पलाई म विशेषगरि क्यारेक्टर आर्टिस्टको रुपमा हेर्न चाहन्छु । एउटा क्यारेक्टर बोकेको अभिनय उसलाई बढी सुहाउँछ । उसलाई लभर ब्वाईको भूमिका पनि सुहाउँछ । तथापि, उसले विविध चरित्रहरुलाई आफ्नो अभिनय क्षमताबाट मान्छेहरुलाई प्रमाणित गरोस् भन्ने कामना चाहिँ मेरो हो ।

